ईलाका प्रहरी कार्यालय केशरगंजको मूलगेटमा सोमबार बिहान विरोध प्रदर्शनमा उत्रिएका व्यवसायीहरुको भिड । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाहीको बयलवासमा प्रदर्शन थप चर्किने आंकलन गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरी भ्यानको ठक्करबाट एक जना युवकको ज्यान गएपछि सोमवार दिनभर ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा प्रदर्शन भएको थियो । आक्रोशित स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी गर्नुका साथै बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको थियो । सोमवार दिउँसो ३ घण्टा बढी पीडितसँग भएको वार्तामा कुनै सहमती नभएकाले मंगलवार पुनः प्रदर्शन हुने आंकलन गरेर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मसाउद आलम खाँ को कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी बयलवास ल्याइएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालयसँगै ईलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपीको कमाण्डमा र विभिन्न प्रहरी युनिटहरुबाट इन्सपेक्टरको कमाण्डमा सोमवारदेखि नै प्रहरी टोली बयलवासमा परिचालन गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरीको पनि जम्बो टोली तैनाथ छ ।
बिदामा गएका जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाई समेत सोमबार राती नै सर्लाही आइसकेका छन् । अस्ती आइतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।
मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरु सोमबार वार्ता स्थल छाडेर हिँडेकाले मंगलबार पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
पीडित पक्षले रामकुमारले चलाएको मोटरसाइकल प्रहरी भ्यानमा आएर ठोक्किएको भनिएपनि घटना शंकास्पद रहेको बताएका छन् । घटनामा संलग्न प्रहरीलाई कारवाहीको मागसहित पीडित पक्ष र स्थानीय आन्दोलित बनेका हुन् ।