मगलबार दिउँसो सर्लाहीको ईश्वरपुर स्थित बयलवास बजारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भईरहेको झडप । (तस्बिर : उज्यालो अभियान)
वयलबास – प्रदर्शनकारीरूले निरन्तर ढुंगामुढा एवं ताेडफाेड गरेपछि सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार क्षेत्रमा अहिले (मंगलबार) दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
स्थिति नियन्त्रणमा लिनका लागि भन्दै प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गाैतमले भाेली(बुधबार) साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका-८ रामपुर टोलसम्म, उत्तरमा वडा नं. ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका-९ खोरिया टोलसम्मकाे क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको अवधीमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रजिअ गाैतमद्वारा जारी निषेधाज्ञा आदेशमा उल्लेख छ ।
प्रजिअ गाैतमका अनुसार सार्वजनिक सम्पतिमा तोडफोड, आगजनी लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हाे । प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय राम कुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले अन्धाधुन्ध आक्रमण सहित आन्दोलन चर्काएपछि बाध्य भएर निषेधाज्ञा जारी गर्नुपरेकाे प्रजिअ गाैतमले जानकारी दिए ।
मंगलबार दिउँसाे प्रजिअ गाैतम, ईश्वरपुरका मेयर मनाेज देवकाेटा, मलंगवाका मेयर निरसल साह, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशष्त्र प्रहरी उपरीक्षक, पीडित परिवारका प्रतिनिधि लगायतकाे टाेली ईलाका प्रहरी कार्यालय केशरगंजमा बसेर छलफल गर्दागर्दै आक्राेशित भिडले एक्कासी प्रहरी कार्यालयमै ढुंगामुढा सहित मेयर देवकाेटा, प्रहरी लगायतकाे सवारी साधनमा क्षति पुर्याएका छन् । एक समूहले प्रहरी कार्यालयमै आक्रमण गरेपछि छलफलमा बसेका टाेली तितरबितर भएकाे बताईएकाे छ ।
पीडित पक्षसँग वार्तामा कुनै सहमती हुन नसकेको र आन्दोलत नियन्त्रण बाहिर गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाकै बीच अहिले पनि आन्दोलित स्थानीयवासी र प्रहरीबीच पटक-पटक झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँससहित हवाइ फायर गरेपनि प्रदर्शन रोकिएको छैन् ।
दोहोरो झडपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथाेकी, प्रहरी निरीक्षक कृष्ण गिरीसहित डेढ दर्जन नेपाल प्रहरी, सोही हाराहारीमा सशस्त्र प्रहरी पनि घाइते भएका छन् । प्रहरीले चलाएको गाेली लागेर आन्दोलित प्रदर्शनकारी पनि घाइते भएकाे स्थानियले दाबी गरेका छन् । तथापी प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले भने गाेली नचलाईएकाे दाबी गरे । ढुंगाले लागेर खुट्टामा चाेट लागेका ती युवाकाे स्थानीय स्वास्थ्य केेन्द्रमा उपचार भईरहेकाे प्रहरीले दाबी गरेकाे छ ।
यसैबीच आन्दोलित स्थानीयवासीले इश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटामाथि समेत आक्रमण गरेका छन् । मृतक राम कुमार महतोको परिवारसँग भेट्न घरमा पुगेका नगर प्रमुख देवकोटामाथि त्यहीँ आक्रमण भएको बताईएकाे छ । घाँटीमा चोट लागेर घाईते नगर प्रमुख देवकोटा उपचारका लागि महोत्तरीको बर्दिवास पुगेका छन् । नगर प्रमुख देवकोटा चढ्ने ना. १ झ १५७० नम्वरको सुमोको सिसा पनि तोडफोड भएको छ ।
आन्दोलित स्थानीयले सोमवार अपरान्ह इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी समेत गरेका थिए । तनाव बढ्दै गएपछि बयलवासमा २ नम्वर प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मसाउँद आलम खाँको नेतृत्वमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
अहिले एसएसपी खाँ, प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाईसहित जिल्लाका सुरक्षा अधिकारीहरु घटनास्थलमै रहेका छन् ।