logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाही प्रहरीद्वारा एक लाख बढीको पटका नष्ट


  • उज्यालो अभियान

मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय परिसरमा पटका नष्ट गरिँदै । (तस्बीर : जनार्जन/उज्यालो)

मलंगवा – सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको पटका मंगलवार नष्ट गरेको छ ।

विभिन्न मितिमा बरामद गरिएको एक लाख ११ हजार रुपैयाँ बराबरको पटका मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा खाल्डोमा पुरेर नष्ट गरिएको हो । उक्त पटकाहरु सीमावर्ती क्षेत्रस्थित छन्कीटोला, अर्नाहा, गडहीया, संग्रामपुर लगायतका नाकाहरुबाट बरामद गरिएको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

भारतबाट लुकाईछिपाई भित्र्याइएको फूलझरी, रकेट, नागिन, आलु बम, झिरझिरे लगायतका विष्फोटकजन्य पदार्थ बरामद गरी नष्ट गरिएको डीएसपी बुढाथोकीले बताएका छन् । तिहार तथा छठमा भारतबाट पटकाजन्य वस्तु भित्रन नदिन सीमा क्षेत्रमा चेकजाँच र गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैबीच, सर्लाही प्रहरीले हालसालै घरेलु मदिरा उत्पादन गर्ने ६ वटा भट्टी पसल भत्काउनुका साथै तयारी र कच्चा पदार्थ गरी ६ हजार ८६० लिटर मदिरा नष्ट गरेको छ । त्यसक्रममा मदिरा उत्पादन गर्न प्रयोग हुने मेसिन, ग्याँस चुल्हो, ग्याँस सिलिण्डर, प्लाष्टिकका भाँडा लगायतका सरसामग्री बरामद् भएको छ ।

त्यसैगरी, सर्लाही प्रहरीले गएको साउन महिनादेखि अहिलेसम्म भारतबाट भन्सार छली गरेर ल्याइएका १ करोड १ लाख ३७ हजार २२ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेर भन्सार कार्यालयमा बुझाएको डीएसपी बुढाथोकीले उज्यालो अभियानसँग बताएका छन् ।