logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको मौसममा सुधार, जनजीवन सामान्य बन्दै


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसममा आजबाट केही सुधार आएको छ ।

यस क्षेत्रमा बिहानैदेखि मौसम उघ्रिएर घाम लाग्न थालेको हो । गएको आइतवारदेखि निरन्तर वर्षा हुँदा प्रभावित बनेको जनजीवन घाम लाग्न थालेसँगै सहज बन्दै गएको छ ।

यो पटकको बेमौसमी वर्षाबाट सबै भन्दा बढी क्षति किसानले बेहार्नु परेको छ । धेरै किसानले काटेर सुकाएको धान वर्षाको पानीले कामै नलाग्ने गरी भिजेको छ । पानीले काट्न बाँकी रहेको धान बालीमा समेत क्षति गरेको किसानहरुले बताएका छन् ।

उखु, तरकारी र अन्य बालीनालीमा पनि वर्षाले नोक्सान गरेको किसानहरुलाई उद्वृत गर्दै हाम्रा संवाददाताहरुले जनाएका छन् । जिल्लाको पूर्व–पश्चिम हुलाकी सडक र अरु भित्री सडकहरु अहिले हिँड्न सक्ने अवस्थामा छैनन् । खोलाको बगरबाट यातायात संचालन हुने चुरेभेगमा खोला बाढीले गर्दा फेरि यातायात बन्द भएको छ ।

यसैबीच, आजबाट मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलले आजदेखि मौसममा सुधार हुँदै जाने बताएका हुन् । ‘अर्को प्रणाली नआएसम्मका लागि अब ठूलो पानी पर्ने सम्भावना छैन’ मौसमविद् पौडेलले भने, ‘पानी पार्ने प्रणाली बाहिरिसकेको छ । आजबाट धेरै ठाउँमा घाम लाग्छ ।’