नयाँरोड – दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको पर्सा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले बाल विवाहमुक्त गाउँपालिका घोषणा गर्ने अभियानमा आफ्नो तर्फबाट भरपूर सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा गर्ने अभियानको सुरुवात गर्न त्यहाँका जनप्रतिनिधि र कर्मचारीहरुलाई आइतवार र सोमवार दुई दिन नयाँरोडस्थित सीता पार्टी प्यालेसमा बागमती सेवा समाज नेपाल हरिवनले आयोजना गरेको अभिमुखीकरणमा सहभागीहरुले यस्तो प्रविद्धता जनाएका हुन् । भारतसँगै सीमा जोडिएको पर्सा गाउँपालिकालाई सन् २०२५ भित्र बालविवाह मुक्त घोषणा गर्न आगामी पुससम्म कार्ययोजना बनाएर अघि बढ्ने अभिमुखीकरणकै क्रममा निर्णय भएको बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिए ।
अभिमुखीकरणको संस्थाका अध्यक्ष भरत कुमार कार्कीको अध्यक्षतामा उद्घाटन तथा समापन गरिएको हो । गाउँपालिकाभित्र अहिले अधिकांश किशोर–किशोरीको उमेर नपुगी विवाह हुने गरेको छ ।
यो अभिमुखीकरणपछि जनप्रतिनिधि र कर्मचारीहरु सचेत भई बाल विवाह मुक्त अभियानमा लागीपर्ने विश्वास गरिएको छ ।