logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हरिपूर्वामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न सुरु, चन्द्रनगरमा २२ गते र ब्रह्मपुरीमा २३ गतेबाट


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा हिजो (शनिवार) बाट राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम सुरु भएको छ ।

शनिवार पहिलो दिन ३ वटा स्टेशन राखेर काम सुरु गरिएको र अबको केही हप्ता विवरण संकलन टोली प्रत्येक वडामा खटिने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिए । सरकारले नागरिकलाई एउटै परिचय पत्रबाट विविध सेवा प्रदान गर्ने उद्देश्यसहित राष्ट्रिय परिचय पत्रको अवधारण अघि सारेको छ ।

त्यसै अनुसार सर्लाहीमा अहिले विभिन्न पालिकाहरुमा धमाधम विवरण संकलनको काम भइरहेको हो । ईश्वरपुर नगरपालिकामा विवरण संकलनको काम सकेर कर्मचारीहरुलाई हरिपूर्वातर्फ परिचालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी महतोका अनुसार ईश्वरपुरका अन्य वडाहरुबाट स्टेशन उठेपनि वडा नं. ९ मा भने अझै एक÷दुई दिन रहने छ । यहीबीचमा भदौ २२ गतेदेखि चन्द्रनगर गाउँपालिकामा र भदौ २३ गतेदेखि ब्रह्मपुरी गाउँपालिकामा पनि टोली परिचालन गरिहाल्ने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।

उनले अब बन्ने राष्ट्रिय परिचय पत्रबाटै धेरै सेवाहरु लिन सकिने भएकाले वडामा टोली आएको बेला परिचय पत्रका लागि विवरण भराउने काम गर्न आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी महतोले कतिपय ठाउँमा केही नागरिक छुट्दा छुटदै पनि स्टेशन उठाउनु पर्ने बाध्यता रहेको बताए ।

उनले गाउँमा टोली जाँदा छुटेकाहरुले ईलाका प्रशासन वा जिल्ला प्रशासनमा गएर पनि विवरण भर्न सक्ने जानकारी दिए ।