logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लालबन्दी दुर्घटना अपडेट : घाईते ८ जनाको उपचार चल्दै, दुई जना आइसियूमा


  • उज्यालो अभियान

दुर्घटनामा परेको पीकअप । (तस्बीर सौजन्य : अशोक घिमिरे)

लालबन्दी – लालबन्दीमा सुक्रवार भएको सवारी दुर्घटनाका ८ जना घाईतेको उपचार चलिरहेको छ ।

घाईते आठै जना लालबन्दी–९, बस्तीपुरका हुन् । उपचाररत ८ जनामध्ये चिन्ताजनक अवस्थाका २ जनालाई आइसियूमा राखिएको लालबन्दी प्रहरीले जनाएको छ ।

४० वर्षीय शम्भु बलम्पाकीको वीरगन्जस्थित न्यूरो अस्पताल र ४२ वर्षीय आईते गोलेको चितवन मेडिकल कलेजको आइसियूमा उपचार चलिरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) निर्मल थापाले उज्यालो अभियानलाई जानकारी दिए । उनका अनुसार, ६५ वर्षीय नेत्रबहादुर मगर र १६ वर्षीय अभिषेक बलमको वीरगन्जस्थित न्यूरो अस्पताल, २० वर्षीय बिक्रम मगरको चितवन मेडिकल कलेज, १४ वर्षीय समिर पाख्रिनको पुरानो मेडिकल कलेज भरतपुर, १५ वर्षीय राहुल मल्लीको लालगढ अस्पताल धनुषा र १७ वर्षीय संगम मगरको चितवनमा उपचार चलिरहेको छ ।

सुक्रवार दिउँसो लालबन्दीबाट फुटबल खेलाडी बोकेर परवानिपुरतर्फ जाँदै गरेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा परेर एक युवकको मृत्यु भएको थियो भने २५ जना भन्दा बढी घाईते भएका थिए ।

८ जना बाहेक अरु सामान्य घाईतेहरु उपचारपछि घर फर्किसकेका छन् । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक थापाले उज्यालोका समाचार प्रमुख जनार्जन खत्रीसँग बताए । प्रहरी निरीक्षक थापाले गाडीधनीसँग समन्वय गरी घाईतेहरुलाई उपचारको प्रवन्ध मिलाइरहेको समेत बताए । दुर्घटनामा परेको पीकअपका चालक भने शनिवार साँझसम्म पनि सम्पर्कमा आइसकेका छैनन् ।