logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लालबन्दीमा जंगली हात्तिले चारवटा घर भत्कायो


  • उज्यालो अभियान

शनिबार राती लालबन्दीको पोखरी टोलमा हात्तिले भत्काएको स्थानीयको घर । (तस्बिर सौजन्य : उदय पाख्रीन)

लालबन्दी – लालबन्दी नगरपालिका–१० पोखरी टोलमा शनिबार राती जंगली हात्तिले चारवटा घर भत्काएको छ ।

स्थानीय संचारकर्मी उदय पाख्रीनका अनुसार श्याम माया मगर, पहल मान मोक्तान, नुरुल अन्सारी र देब लाल डिम्डुङको घरमा हात्तिले क्षति पुर्याएको हो । त्यस्तै तामाङ आर्यघाटको लामा बस्ने टहरोलाई समेत हात्तिले भत्काईदिएको स्थानीय बासिन्दाले बताएका छन् ।

पूर्व–पश्चिम राजमार्गदेखि उत्तर पोखरी टोलमा तीनवटा हात्तिको समूह राती आएको थियो । हात्ति आएपछि गाउँलेहरुबीच भागाभाग भएको पाख्रीनले जानकारी दिए । हात्तिले ४ वटा घर भत्काए र घरभित्र भएको अनाज खाएपछि रातभर जागराम बस्नु परेको पाख्रीनले गुनासो गरे ।

विगत एक महिनादेखि बागवानी केन्द्रको जंगलमा बस्दै आएका तीनवटा हात्ति केही दिनअघि हरिवन नगरपालिका–१ को चुरे क्षेत्र हुँदै पश्चिम लागेका भएपनि स्थानीयको अवरोध पश्चात पुनः लालबन्दीतर्फै फकिएका हुन् । यसअघि पटक–पटक आएको हात्तिहरुको समूह भन्दा यी तीनवटा हात्ति तुलनात्मक रुपमा संयमित देखिएको प्रहरीले जनाएको छ । यी हात्तिले हालसम्म मानववीय क्षति भने गरेका छैनन् ।

यो पनि पढ्नोस्

हरिवनमा हात्तिले घर भत्काएर भित्र रहेको धान र मकै खायो

स्थानीयले होहल्ला गर्दै कराउन थालेपछि हात्तिले भाग्ने क्रममा घर भत्काउने गरेको विज्ञहरु बताउँछन् । यता स्थानीय बासिन्दा भने जंगली हात्तिले पटक–पटक घर भत्काएर क्षति पुर्याउँदा समेत सम्बन्धित निकायले वेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।