logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा पनि दोस्रो डोजको खोप लगाउन सुरु, मलंगवामा डीसीसीएमसीको बैठक सम्पन्न


  • उज्यालो अभियान

मलंगवा – कोरोनाबिरुद्ध पहिलो डोज खोप लगाएकाहरुलाई मंगलवारबाट सर्लाहीसहित देशभर नै दोस्रो डोजको खोप दिईन थालिएको छ ।

सर्लाहीमा मंगलवार पहिलो दिन जिल्ला अस्पताल मलंगवा तथा लालबन्दी र हरिपुरमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रबाट ३८९ जनालाई दोस्रो डोज खोप लगाइएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले जानकारी दिए । उनका अनुसार सर्लाहीमा पहिलो चरणमा खोप लगाएका ६ हजार ८२ जनालाई अब दोस्रो डोजको खोप लगाइने छ ।

स्वास्थ्य प्रमुख नायकले बैशाख ११ गतेसम्म २० वटै पालिकामा दोस्रो डोजको खोप लगाएर सकिने बताए । प्राथमिकताको पहिलो र दोस्रो समुहमा परेर पहिलो डोज लगाएकाहरुलाई दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।

पहिलो र दोस्रो प्राथमिकताको सूचीमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी रहेका छन् ।

यसैबीच, मंगलवार सदरमुकाम मलंगवामा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसेको छ । बैठकले सरकारबाट निर्णय भएर आएका कुराहरुलाई कार्यान्वयन गर्ने र त्यसका लागि विभिन्न निकायहरुलाई संक्रमणविरुद्ध प्रचारपसार, सचेतना जगाउनेलगायतका जिम्मेवारी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।