logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ज्वाईंले लगाए सासुको परालको टालमा आगो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

हरिवन – हरिवन नगरपालिका–१०, ताईवान टोलमा आफ्नै ज्वाईंले आगो लगाउँदा निरकुमारी फूयाँलको एकलाख भन्दा बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार सोमबार दिउँसो पौने ४ बजेतिर फूयाँलको परालको टाल र धानको भुषमा आफ्नै छोरी ज्वाईं जयराम कार्कीले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीमा परेर एउटा बाख्रा समेत मरेको र एकलाख भन्दा बढीको क्षति भएको पीडित फूयाँलले जानकारी दिईन् । श्रीमतिसँगको झगडाका कारण कार्कीले सासुको घरमा आएर परालको टालमा आगो लगाएको बताईएको छ । मदिराले लठ्ठ कार्कीले आफूलाई तथानाम गालीगलौज समेत गरेको फूयाँलले जानकारी दिईन् । गाई लगायत पशुपालन व्यवसायी गरेकी फूयाँलले केही दिनअघि मात्र एक लाख रुपैंयामा पराल किनेर राखेको बताईएको छ ।

हरिवन नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सकृयतामा तत्काल आगो नियन्त्रणमा लिईएकाले थप ठूलो क्षति हुन नपाएको हरिवन नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शम्भु मैनालीले जानकारी दिए । कार्कीले आफूलाई समेत पछाडीबाट खुकुरीले आक्रमण प्रयास गरेको वडाध्यक्ष मैनालीले बताए ।

वडाध्यक्ष मैनालीका अनुसार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।