आफूले पाएको नागरिकता देखाउँदै रामकुमारी साह । (तस्बिर : जनार्जन/उज्यालो अभियान)
जनार्जन खत्री/लालबन्दी – वषौँदेखि घरेलु हिंसा पीडित सर्लाही लालबन्दी नगरपालिका ५ मेजरगञ्जकी रामकुमारी साहलाई महिला अधिकारकर्मी र जनप्रतिनिधीको पहलमा नागरिकता दिलाइएको छ ।
उनलाई अनेक लान्छना लगाएर श्रीमान शिवजी साहले नागरिकताबाट बञ्चित गरेका थिए । लालबन्दीका महिला अधिकारकर्मी र वडा नं. ५ का जनप्रतिनिधरीको पहलमा ईलाका प्रशासन कार्यालय हरिवनबाट नागरिकता दिलाइएको हो ।
नागरिकता बनाइदिन माग गर्दा तीन सन्तानकी आमा साहमाथि बारम्बार कुटपीट भएको थियो । ‘विवाह गरेको केही समयपछिबाटै मलाई श्रीमानले कुटपीट गर्न थाले, अर्कै श्रीमती ल्याएर बाहिर–बाहिर बस्दा म आफैले उनीहरुलाई हुर्काए, रामकुमारीले भनिन्, दिदीहरु (महिला अधिकारकर्मी) र वडाध्यक्षको पहलमा नागरिकता पाउँदा खुशी लागेको छ ।’ प्रहरीको सहयोगमा श्रीमान शिवजीलाई झिकाएर रामकुमारीलाई नागरिकता दिलाइएको हो ।
श्रीमानले हेला गरेपछि उनीले अहिले लालबन्दी बजारमा तरकारी बेचेर आफू र तीन सन्तानको पेट पाल्दै आएकी छिन् । ‘मेरो र नानीबाबुहरुको अहिले बाच्ने आधार नै यही तरकारी हो, यसैबाट गुजारा चलेको छ’ उनले भनिन् । रामकुमारीले लालबन्दीको खुद्रा बजारमा तरकारी बेच्छिन् ।
घरखर्चदेखि छोराछोरीलाई पढाउने खर्च समेत उनले यसैबाट जुटाउँछिन् । आफ्नो नागरिकता बनेपछि विभिन्न कार्यालयमा सेवा लिन जान र अन्य प्रयोजनका लागि पनि सहज भएको भन्दै उनी खुशी छिन् ।
महिला अधिकारकर्मी रमा दाहाल कुमारीमाथि असाध्य अन्याय भएको बताईन् । ‘उनलाई श्रीमानले वास्तै नगरेको अवस्था छ, तीन सन्तानको आफैले पालन पोषण गर्दै आएकी छिन्, दाहालले भनिन्, हामीले अन्य न्याय दिलाउन नसकेपनि नागरिकता दिलाएका छौँ, यति हुँदा पनि उनी धेरै खुशी छिन् ।’ आफूहरु समेत ईलाका प्रशासन कार्यालयमा पुगेर नागरिकता दिलाएको दाहालले बताईन् ।
श्रीमान शिवजी अर्कै श्रीमती ल्याएर सिरहातिर बस्दै आएकाले रामकुमारीलाई श्रीमानसँग भने राख्न नसकेको दाहालले सुनाईन् । श्रीमतीलाई नागरिकता नदिए प्रहरी लगाएर कानुनी कारवाही गर्ने चेतावनी दिएपछि शिवजीले श्रीमतीलाई नागरिकता दिलाएका हुन् ।
लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मोहनहरि भण्डारी घरेलु हिंसा पीडित महिलालाई न्याय दिलाउन असाध्य गाह्रो रहेको बताउँछन् । घरेलु हिंसाका यस्ता जटिल केसहरु आइरन्छन्, सकेसम्म मिलाउने प्रयास गर्दै आएका छौँ, वडाध्य भण्डारीले भने, रामकुमारीको केसमा धेरै संघर्ष गरेर नागरिकता दिलायौँ । हामीले त्यति गर्दिदा पनि उनी खुशी छिन् ।
लालबन्दी नगरपालिकाको न्यायीक समितिमा पनि घरेलु हिंसा अन्तर्गत खानलाउन नदिएको, श्रीमान र परिवारका सदस्यहरुबाट कुटपीट भएको, नागरिकता नबनाइदिएको जस्ता गुनासो आउने गरेका छन् । नगरपालिकाको न्यायीक समितिका सदस्य एवं वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपानेले आफूहरुको क्षेत्राधिकारभित्र पर्ने केसमा मेलमिलाप गराउँदै आएको बताए ।
यस नगरपालिकामा घरेलु हिंसा अन्त्य गर्ने उदेश्यसहित तयार नेपाल नामक संस्थाले पनि घरेलु हिंसा न्यूनिकरणका लागि छोटो अवधी काम समेत गरेको छ । संस्थाले सन् २०२० अगस्ट २० देखि जनवरी २१ सम्म महिलाहरुको क्षमता विकासदेखि अन्य क्षेत्रमा नगरपालिकालाई सहयोग गरेको संस्थाका प्रतिनिधी निराजन चौधरीले बताए ।