0-4064x3074-0-0#
कविलासी, १६ कात्तिक – नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको चमेलीमाई मन्दिर क्षेत्र कुनै समय असाध्य डाँका लाग्ने ठाउँको रुपमा परिचित थियो ।
डाँकाको डरले मानिस एक्लै हिँड्न सक्दैनथे । अहिले यही ठाउँ गुलजार बन्न पुगेको स्थानीय वासिन्दाले बताएका छन् ।
कविलासी नगरपालिका–१०, सलेमपुरमा पर्ने चमेलीमाई मन्दिरक्षेत्रमा पछिल्लो समय भक्तजन मात्र बढेका छैनन् वरपर बस्तीसमेत बस्न थालेको छ । अब चोर, डाँकाको भय हराइसकेको छ ।
मन्दिरको दायाँबायाँ स्थानीयले स्थायीरुपमै घर बनाएर बसोवास गर्न थालेका छन् । विभिन्न प्रकारका पसल, व्यवसाय खुल्नेक्रम बढेको कविलासी नगरपालिका–१० का वडाध्यक्ष सञ्जय महतोले बताए ।
वडाध्यक्ष महतोले चमेलीमाई क्षेत्रको चिनारी र मुहार फेरिएको बताए । उनले भने, “यहाँ बारम्बार डाँका लागेर गाउँले तथा हाइवेबाट सदरमुकाम मलङ्गवा आउजाउ गर्नेहरु हैरान थिए तर अहिले त्यो अवस्था छैन् । पुरै बस्ती बसेर बजार नै बनिसकेको छ ।”
नवलपुर–मलङ्गवा सडकको चमेलीमाई, ढङ्ग्रा, हरैयालगायत चोक तथा गौँडामा अहिले बाक्लो बस्ती बढ्दै गएको महतोले बताए । । धार्मिक तथा पर्यटकीयस्थलसमेत भएकाले चमेलीमाई क्षेत्रमा तीव्ररुपमा बस्ती र व्यवसाय बढेको वडाध्यक्ष महतोले जानकारी दिए ।
यहाँ मानिसको चहलपहल र बजार बढेपछि व्यवसायीले पेट्रोल पम्प निर्माणको कामसमेत अघि बढाएका छन् । मन्दिर नजिकै धर्मशाला निर्माण भएपछि धार्मिकस्थलमा आउने मानिसहरुलाई विश्राम तथा बास बस्नका लागि सहज भएको छ ।
डाँकाको भय हराएको र पक्की सडकसमेत बनेपछि भारतीयसहित महेन्द्र राजमार्ग क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु आउन थालेपछि चमेलीमाईको विकास भइरहेको मन्दिरका पूजारी जयवीर झाले बताए । उनले भने, “यो ठाउँ पहिले भन्दा त आकाश जमिनको फरक भइसकेको छ ।”
मानिसको चहलपहल बढेपछि चमेलीमाई क्षेत्रमा केही युवाले फोटो, भिडियो खिचेर मनग्य आम्दानीसमेत गर्न थालेका छन् । टेम्पु, म्याजिकलगायतलाई यहाँबाट यात्रु ओसारपसार गर्न भ्याइनभ्याइ पर्न थालेको छ ।