logo
  • आइतवार, अशोज ४, २०८३ / Sunday, Sep, 20 ,2026

सर्लाहीमा तीज र चौरचन पर्वको उल्लास


  • उज्यालो अभियान

तीजका लागि पूजाअर्चनाका लागि लालबन्दीको डुमडुमे मन्दिरमा लागेको भीड । (तस्बीर सौजन्य : प्रकाश पोखरेल/लालबन्दी-७)

लालबन्दी, २९ भदौ – महिलाहरुको प्रमुख पर्व हरितालिका तीज आज सर्लाहीमा खुसीका साथ मनाउनेक्रम जारी रहेको छ ।

तीजको दिन लालबन्दीस्थित डुमडुमे मन्दिरसहित हरिवनको कैलाशपुरी र सुखेपोखरी महादेव मन्दिर, मुर्तियाको मुक्तेश्वर बाबाधाम, सागरनाथको सागरनाथ महादेव मन्दिरलगायत जिल्लाभर गाउँगाउँका शिवालयहरुमा उल्लासमय किसिमले तीज मनाउनेक्रम चलिरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । बजारका ठूला मार्टहरु अगाडि नाचगानसहितका कार्यक्रम सुरु भएका छन् ।

लालबन्दीको डुमडुमे मन्दिरमा महिलाहरुले बिहान सबेरैदेखि अहिले दिउँसोसम्म पनि लाइनमा बसेर दर्शन तथा पूजाअर्चना गरिरहेका डुमडुमे शिवालयका अध्यक्ष देविबन्धु थापाले जानकारी दिएका छन् ।

भीड धेरै भएकाले डुमडुमे मन्दिरमा व्रतालुहरुले एक घन्टा भन्दा बढी समय लाइनमा बसेर पूजा अर्चना गर्नुपरेको छ । सत्य युगमा भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथासँग जोडेर सर्लाहीमा हिन्दु तथा अन्य समुदायका महिलाहरुले निराहार व्रतबसी तीज पर्व मनाउने गर्छन् ।

चौरचन पनि मनाइँदै

सर्लाहीमा तीजसँगै आज चौठचन्द्र अर्थात् चौरचन पर्व पनि मनाउनेक्रम चलिरहेको छ ।

छठपछिको महत्वपूर्ण पर्वका रुपमा लिइने चौरचनमा मिथिलाका महिलाहरुले दिनभर उपवास बसेर आज साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजाअर्चना गर्ने ईश्वरपुर नगरपालिकाकी उपमेयर रन्जितादेवी चौधरीले बताइन् ।