logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

‘पुलिस’ को दाँत झारेको आरोपमा वडाध्यक्ष पक्राउ, विरोधमा बजार बन्द


  • उज्यालो अभियान

प्रहरीले पक्राउ गरेको वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दास । (तस्बीर : वडाध्यक्ष दासकै फेसबुकबाट)

गोडैता, २२ असोज – प्रहरीलाई कुटपिट गरेको र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका–७, का वडाध्यक्ष छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

४० वर्षीय वडाध्यक्ष दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले पुष्टी गरे । वडाध्यक्ष दासको नेतृत्वमा असोज १७ गते साँझ प्रहरी चौकी गोडैतामा ढुंगामुढा गरेको र प्रहरी कर्मचारीलाई कुटपिट गरेको आरोप लागेको छ ।

आक्रमणबाट प्रहरी चौकी गोडैताका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सइ) अवधेशप्रसाद यादवको अगाडिको दुईवटा दाँत भाँचिएको डिएसपी राईले बताए । उनले उज्यालो अभियानलाई बताए अनुसार प्रहरी चौकीमा कार्यरत अन्य ५ जना कर्मचारीसमेत घाइते भएका छन् ।

प्रहरी चौकीमा ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा ३ वटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले दावी गरेको छ । दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा गोडैता नगरपालिका–७, मा स्थानीय कारिल यादवलाई सर्लाहीकै रामनगर गाउँपालिका–५, बस्ने अनिल राय यादवलगायतले कुटपिट गरेको विषयलाई लिएर कारिल यादव पक्षका वडाध्यक्ष दाससहितले प्रहरी चौकीमा आएर आक्रमण गरेको आरोप लागेको छ ।

कारिल यादवलाई कुटपीट गर्ने ठेकेदारसमेत रहेका अनिल राय यादव प्रहरीको नियन्त्रणमा रहेका छन् । कारिल यादव कुटिएको विषयमा प्रहरी चौकीमा पंचायती (छलफल) हुँदै आएको थियो ।

प्रहरीले वडाध्यक्ष विनेशकुमार दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेको छ । उनलाई कुटपीट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रो कसुरमा बुधबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको डिएसपी राईले उज्यालो अभियानसँग बताए ।

डिएसपी राईले सइ तथा अन्य प्रहरी कर्मचारी प्रहरी चौकीभित्रै रहेका बेला एक्कासी वडाध्यक्षले ठुलो समूह ल्याएर आक्रमण गरेको आरोप लगाएका छन् । उनले भने, “हाम्रो अनुसन्धासनमा वडाध्यक्षकै नेतृत्वमा ढुंगामुढा प्रहार र प्रहरी कुटिएको देखिन्छ, त्यसैले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।”

वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार (आज) बिहानैदेखि गोडैता बजार बन्द गराइएको छ । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले वडाध्यक्ष दासलाई राजनीतिक पूवाग्रह राखेर पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

अन्य व्यक्तिले ढुंगामुढा गरेको तर वडाध्यक्षलाई अनावश्यक रुपमा घटनामा मुछिएको मेयर यादवको दावी छ । “यसमा वडाध्यक्षको संलग्नता नै छैन, राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको छ,” नगरप्रमुख यादवले भने “प्रहरीले दोषी पहिचान गरेर कारवाही गरोस् तर निर्दोष जनप्रतिनिधिलाई यसरी पक्राउ गर्नु उचित हुँदैन् ।”

स्थानीयले बजार बन्द गराएर आन्दोलन गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ठुलो संख्यामा नेपाल प्रहरी गोडैता पठाइएको छ । त्यस्तै सशस्त्र प्रहरी प्रहरी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ ।