कौडेना गाउँपालिका-३ पर्सा गाउँदेखि पश्चिम लखन्देही खोलाको बाढीले कटान गरेको हुलाकी राजमार्ग । (तस्बिर : उज्यालो अभियान)
मलंगवा, १९ असोज – सर्लाहीको कौडेना गाउँपालिका–३, मा लखन्देही खोलाको बाढीले करिव १५० मिटर सडक बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग अवरुद्ध बनेको छ ।
भारी वर्षापछि आइतबार बिहानको बाढीले कालोपत्रेसहितको सडक बगाएपछि सदरमुकाम मलङ्गवादेखि पश्चिमी बेल्टमा पूर्वपश्चिम हुलाकी राजमार्गमा आवतजावत ठप्प भएको हो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले सडक मर्मतका लागि समन्वय भइरहेको उज्यालो अभियानसँग बताए ।
सडक कटान भएपछि कौडेनासहित जिल्लाको पश्चिमी भेगमा पर्ने गोडेता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाको सदरमुकाम मलङ्गवासँग सडक सञ्जाल टुटेको छ । यि आधा दर्जन पालिकाका स्थानीय सदरमुकाम मलङ्गवा आउजाउ गर्नुपर्दा पूर्वपश्चिम राजमार्ग निस्किएर वा हीरापुर–मदनपुर–सलेमपुर सडक भएर यात्रा गर्न बाध्य भएका छन् ।
यस्तै मनुष्मारा खोलाले दुई किलोमिटर सडक कटान गर्दा सर्लाहीको धनकौलबाट रौतहटको धरमपुर जोड्ने सडक पूर्णरुपमा अवरुद्ध बनेको छ ।