मलंगवा, ०९ असोज – सर्लाहीको मौसम आज बिहानैदेखि उघ्रिएर घाम लागिरहेको छ ।
यहाँ हिजो दिउँसोदेखि रातिसम्म मौसम बदली भएको थियो । हिजो दिउँसो र राति जिल्लाको विभिन्न ठाउँमा वर्षा भएको थियो । ३ दिन लगातार चर्को घाम लागेर अत्यधिक गर्मी खेपेका स्थानीय हिजो दिउँसोबाट मौसम बदली भएर विभिन्न स्थानमा पानी पर्दा शित्तलता महशुस गरेका थिए । तर आज फेरि बिहानैदेखि टन्टलापुर घाम लागेर गर्मी हुन थालेको छ ।
अहिले प्रायः पानी पर्दा खण्डवृष्टि अर्थात् नजिकै एक ठाउँमा पानी पर्ने र अर्को ठाउँमा नपर्ने भइरहेको हुन्छ ।
यसैबिच, हिजो दिउँसो र राति देशका धेरै ठाउँमा पानी परेकोमा अहिले भने रोकिएको छ । पछिल्लो १२ घण्टामा गोरखा, तनहुँ, लमजुङ, दाङ लगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेका ठाउँका खोला, नदीहरुमा बाढी आएको छ । महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा पानी पर्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही ठाउँ, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै ठाउँ तथा बाँकी भू–भागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशभर मनसुनी वायूको प्रभाव कमजोर रहे पनि स्थानीय वायूको प्रभाव रहेको छ ।
मनसुनको अवधि पनि कायमै रहेकाले दशैँको मुख्य दिनमा पनि पानी पर्न सक्ने मौसमविदले बताएका छन् ।