logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीको मौसम क्रमिकरुपमा खुल्दै, हिजोदेखि परेको छैन पानी


  • उज्यालो अभियान

लालबन्दी, ०५ असोज – सर्लाहीमा लगातारको झरी रोकिएर क्रमिकरुपमा मौसम उघ्रदै गएको छ ।

यहाँ हिजोदेखि नै पानी पर्न रोकिएको हो । आज अहिले बिहानको मौसम सफा नै रहेको छ । चुरेवर्ती केही क्षेत्रमा भने कुहिरो लागेको झैँ मौसम धुम्मिए पनि अन्यत्रको मौसम सफा भएर मधुरो घाम लागिरहेको स्थानीयले जानकारी दिनुभयो । नत्र भने यस क्षेत्रमा ३÷४ दिन झरी परेको थियो ।

भदौ मध्यदेखि बेलाबेलामा पानी परिरहेकाले यस भेगमा गर्मी उल्लेख्यरुपमा घट्दा राहत महशुस भइरहेको छ । अझ बिहानपख त विस्तारै चिसो पस्न थालिसकेको छ । चाडपर्व नजिकिँदै गर्दा मौसम अनुकूल बनेको हो ।

विगत ३÷४ दिनको वर्षाले चुरेभेगमा भने खोला, खोल्साको बाटो झनै बिग्रँदा स्थानीयले सास्ती पाएका छन् । पूर्णरुपमा पानी पर्न नरोकिँदा चुरेवर्ती क्षेत्रमा खोलाबाट हिँड्नुपर्ने र खोलैबाट गाडी चल्ने ठाउँमा यातायातका साधन सञ्चालन हुन नसक्दा दशैँको किनमेल प्रभावित भएको स्थानीयले गुनासो गरेका छन् ।

यसैबिच गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । गएको १२ घण्टामा पर्वत, सिन्धुपाल्चोक र ताप्लेजुङमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशको पहाडी भू–भागको केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।