लालबन्दी, ३० साउन – उखुको अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै देशभरका अगुवा उखु किसान सङ्घीय राजधानी काठमाडौं पुगेका छन् ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुको अनुदानका लागि बजेट बिनियोजन नगरेपछि उखु किसान असन्तुष्ट छन् । किसानले दुई साताअघि आ–आफ्नो जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै साउन महिनाभित्र अनुदान रकमबारे निर्णय गर्न समय दिएका थिए ।
सरकारले यसबारेमा निर्णय गर्न चासो नदेखाएपछि सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा, सुनसरी, नवलपरासी, कञ्चनपुरलगायत उखु खेती हुने प्रत्येक जिल्लाका अगुवा उखु किसान काठमाडौं केन्द्रित आन्दोलनको तयारीका लागि भेला भएका हुन् । उखु किसानका अगुवाले आज विभिन्न जिल्लाका सांसद, चिनी उद्योगका मालिकसहित पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई भेटेर उखु किसानको पीडा सम्वोधनका लागि आग्रह गरेका छन् ।
आफूहरुले प्रधानमन्त्रीलाई नै भेटेर अनुदान रकम कटौतिको विषयमा कुरा राख्न चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय मिलाइदिन नेकपा एमालेका महासचिव पोखरेलसँग आग्रह गरेको केन्द्रिय उखु किसान सङ्घर्ष समितिका सह–संयोजक राजकुमार उप्रेतीले जानकारी दिए । आगामी सोमबारतिर प्रधानमन्त्रीसँग भेट हुने सम्भावना रहेको र उहाँसँगको छलफलपछि पनि उखुको अनुदान रकम पाउने अवस्था नरहे भदौ दोस्रो साताबाट काठमाडौंको माइतीघरमा धर्ना सुरु गर्ने तयारी रहेको उप्रेतीले बताए ।
आन्दोलनका लागि देशभरबाट एक हजार उखु किसान उतार्ने र त्यसको तयारीको विषयमासमेत छलफल अघि बढेको उखु किसानका अगुवाले बताएका छन् । उखु किसानले गत आर्थिक वर्ष २०८१/८२ कै उखुको अनुदानसमेत प्राप्त गर्न सकेका छैनन् ।
गत वर्ष सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँको दरले अनुदान रकम प्रदान गर्ने निर्णय गरेको थियो । यो वर्षदेखि अनुदान रकम कटौति भएसँगै उखुको उत्पादन घट्दै जाने चिन्ता थपिएको छ ।