शुक्रबार दिउँसो वर्षा भएपछि चुरेभेगमा पर्ने सर्लाही र महोत्तरीको सीमास्थित बाँके खोला क्षेत्रमा देखिएको दृश्य ।
मलंगवा, १६ साउन – सर्लाहीको उत्तरी चुरेभेगमा शुक्रबार दिउँसो ‘आरीघोप्टे’ वर्षा भएको छ ।
चुरेभेगको घारिबथान, परवानीपुर, पत्थरकोट, अत्रौली, नारायणखोलालगायत क्षेत्रमा दिउँसो ३ बजेपछि केहीबेर भारी वर्षा भएको स्थानीयले बताएका छन् । पूर्वपश्चिम राजमार्ग क्षेत्रको हरिवन बजार र यस आसपासमा पनि भारी वर्षा भएको छ ।
जिल्लाको चुरेवर्ती क्षेत्रका गएको सोमबार पनि यसैगरी भारी वर्षा भएको थियो । खेतीका लागि पूर्णरुपमा सिँचाईको भर रहेको चुरेभेगमा एक सातामै दुई पटक पर्याप्त वर्षा भएपछि किसान खुसी भएका छन् ।
ईश्वरपुर नगरपालिका–१२, घारिबथानका फडिन्द्र खत्रीले शुक्रबार दिउँसो भल बग्ने गरी ठूलो पानी परेको जानकारी दिनुभयो । भर्खरै रोपिएको धान खेतमा राम्रोसँग जम्ने गरी पानी परेको भन्दै खत्रीले खुसी व्यक्त गरे ।
पत्रकार विश्वनाथ ठाकुरले सदरमुकाम मलङ्गवामा पनि एक झर राम्रोसँग वर्षा भएको बताए । उनका अनुसार मलङ्गवा आसपास भएको वर्षाले किसान खुसी भएका छन् ।
चुरेवर्ती क्षेत्रका धेरै ठाउँमा पानी परेपनि पूर्वपश्चिम राजमार्ग क्षेत्र र दक्षिणी भेगका धेरै ठाउँमा भने वर्षा हुन सकेन । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका शेख जमसैद आलमले आफूहरुको क्षेत्रमा पानी पर्नै नसकेको बताए ।
पानी परेको क्षेत्र तथा पानी नपरे पनि मौसम बदली भएको क्षेत्रमा मौसम धुम्मिएकाले स्थानीयले शुक्रबार दिउँसोदेखि गर्मी केही कम भएको महसुस गरिरहेका छन् ।