logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सर्लाहीको घारिबथानमा सर्पले डसेर महिलाको मृत्यु


  • उज्यालो अभियान

लालबन्दी, १६ साउन – सर्लाहीको उत्तरवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

घारिबथानकी ५० वर्षीया सीता परियारको गोमन सर्पले डसेर मृत्यु भएको हो । परियारलाई बिहीबार साँझ सुँगुरलाई चारो हाल्न जाँदा गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो ।

उनलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा रहेको जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईश्वरपुर नगरपालिका १२ का वडा सदस्य खेमबहादुर बुढाथोकी (दिनेश) ले उज्यालो अभियानलाई जानकारी दिए । नवलपुर सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आइसियु चलाउन जान्ने दक्ष जनशक्ति नरहेकाले सर्पले डस्नै बित्तिकै सामान्य अवस्थामा ल्याइएका बिरामीको मात्रै उपचार सम्भव हुने गरेको छ ।

नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले परियारलाई विष लागेर चिन्ताजनक अवस्थामा ल्याइएकाले १० भाइल एन्टीस्नेक भेनम चढाएर जनकपुर रेफर गरिएको बताए । महिलालाई बोली लटपटिएको र थुक्न समेत नसक्ने अवस्थामा ल्याइएकाले यहाँ उपचार सम्भव नभएको सर्पदंश उपचार केन्द्रका इन्चार्ज यादवको भनाइ छ ।

केही समयअघि बागमती नगरपालिका–११, कर्मैयामा फर्सीको मुन्टा टिप्न जानुभएको एक महिलालाई गोमन सर्पले डसेपछि समयमै उपचार नपाउँदा मृत्यु भएको थियो । गर्मीका कारण तराई मधेशमा विषालु सर्पको बिगबिगी बढेको छ ।