हरिवन, १५ साउन – सर्लाहीस्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेकले आज वृक्षरोपण गरेको छ ।
गणले चुरेभेगस्थित हरिवन नगरपालिका–१, मा रहेको शिवेश्वर सामुदायिक वनमा साल, सिसौसहित विभिन्न प्रकारका फलफूल र फूलजन्य विरुवा रोपेको हो । वन क्षेत्रमा दुई हजार ५०० विरुवा रोपिएको कालीध्वज गणका गणपति एवं प्रमुख सेनानी (कर्णेल) उमेश खड्काले जानकारी दिए ।
प्रमुख सेनानी खड्का, हरिवन नगरपालिका १ का वडाध्यक्ष टमबहादुर तामाङ, शिवेश्वर सामुदायिक वनका अध्यक्ष टङ्कबहादुर राई, वनका उपाध्यक्ष टेकबहादुर आलेलगायत भएर वृक्षरोपण गरेका छन् । वातावरण संरक्षण एवं हरियाली प्रवद्र्धन गर्ने उद्देश्यसहित वृक्षरोपण गरिएको गणपति खड्काले उज्यालो अभियानसँग बताए ।
यस्तै साउन १५ को अवसर पारेर नेपाली सेनाले आज नै हरिवन १ कैलाशपुरीमा रहेको मानव सेवाश्रममा आश्रय दिएर राखिएकाहरुलाई खीर खुवाउने कार्यक्रम गरेको छ ।
आश्रममा आश्रीत ७० जना सडक मानव र उनीहरुको सेवा गरिरहेका १० जना स्वयंसेवकलाई खीर खुवाइएको कालीध्वज गण पाँचकुमारी ब्यारेकले जनाएको छ ।
