logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

खडेरीमा सिँचाई गर्न मोटरको भर, त्यही पनि चोरी भएर हैरान


  • उज्यालो अभियान

चन्द्रनगर, १३ साउन – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सिँचाईका लागि खेतमा जडान गरिएको विद्युतीय मोटर चोरी हुनेक्रम बढेपछि किसान हैरान भएका छन् ।

यो वर्ष बेलैमा पर्याप्त आकाशे वर्षा नभएकाले अधिकांश किसानले खेतमा बिजुलीबाट चल्ने पानी तान्ने मोटर जडान गरेका छन् । चन्द्रनगरमा गाउँपालिका कार्यालयले सिँचाईको विद्युत महशुल तिरिदिने गरेको छ ।

चन्द्रनगर गाउँपालिका–१, लघुवामा दुई रातमा दुईवटा मोटर चोरी भएको स्थानीयले जानकारी दिएका छन् । लगातार दुई रातमा लघुवाका राधे राय र रामबाबु रायको खेतमा सिँचाईका लागि जडान गरिएको विद्युत मोटर चोरी भएको हो ।

खडेरीको चपेटामा परेर सिँचाईका लागि मोटरकै भर रहेका बेला मोटर नै चोरी भएपछि समस्यामा परेको किसान रामबाबु रायले गुनासो गरेका छन् ।

एउटा विद्युतीय मोटरको मुल्य २२ हजार रुपियाँ भन्दा माथि पर्छ । चन्द्रनगर १ लघुवा र बिर्तामा केही साताअघि दुईवटा ट्रान्सफर्मर समेत चोरी भएको थियो । बारम्बार ट्रान्सफर्मर र मोटर चोरी भइरहँदा चोरीमा संलग्न कुनै पनि व्यक्ति पक्राउ नपरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रमुख एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले मोटर चोरीका घटना बढेपछि प्रहरीले रातभर गस्ती गरिरहेको दाबी गरेका छन् । अहिले प्रत्येक किसान सिँचाईका लागि रातभर खेतमै रहने भएकाले खेतधनी हुन कि चोरी गर्ने व्यक्ति हुने भनेर छुट्याउन नै समस्या पर्ने अवस्था रहेको इन्स्पेक्टर जोशीको भनाइ छ ।