logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

२२३ सवारीको यान्त्रिक परीक्षण


  • उज्यालो अभियान

नयाँरोड, २८ जेठ – ट्राफिक सचेतना सप्ताह अन्तर्गत सर्लाहीको हरिवनमा २०० भन्दा बढी सवारी साधनको यान्त्रिक परीक्षण गरिएको छ ।

यान्त्रिक गडबडीका कारण हुने दुर्घटना न्युनिकरण गर्न हरिवन नगरपालिका–१०, स्थित नयाँरोडमा २२३ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको हो । परीक्षणमा खराबी देखिएका सवारी साधन तत्काल मर्मत गर्न चालक तथा सवारीधनीलाई निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनायो ।

कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेका अनुसार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अन्तर्गत चालक तथा यात्रुलाई सचेतना प्रदान गर्न सडक नाटकको समेत सहायता लिइएको छ । सडक सुरक्षा र दुर्घटना न्यूनिकरणका लागि भन्दै मधेश सरकारको गृह, संचार तथा कानून मन्त्रालयको अग्रसरतामा अहिले मधेश प्रदेशका आठै जिल्लामा ट्राफिक सचेतना सप्ताह संचालन भइरहेको छ ।

सवारी दुर्घटना बढेपछि प्रदेश सरकारकै अगुवाईमा सचेतना सप्ताह अघि बढाइएको हो । तीव्र गति, लापरवाही, खराब सडकलगायतका कारणले सवारी दुर्घटना बढी हुने गरेको सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक घिमिरेले बताए ।