logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा बिहानैदेखि सिमसिम पानी, गर्मी घट्दा जनजीवन सहज


  • उज्यालो अभियान

लालबन्दी, २१ जेठ – सर्लाहीको मौसम आज बिहानैदेखि बद्ली भइरहेको छ ।

यहाँ मौसम बद्ली भएर बेलाबेलामा सिमसिम पानी पर्ने र रोकिने भइरहेको हो । मौसममा आएको बदली सँगै आज हिजो अस्तीको तुलनामा गर्मी निकै कम हुँदा सर्वसाधारणले राहत महशुस गरेका छन् ।

पानी पर्दा हुर्कदै गरेको मकै, उखु, चैते धानसहितका बालीनालीलाई फाइदा गरेपनि हाइब्रिड मकै भित्र्याइरहेका किसानलाई भने समस्या परेको छ ।

यसैबिच, कोशी प्रदेशका धेरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेकोले त्यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायु पूर्वमा सक्रिय छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र उदयपुरमा २४ दशमलव २ मिलिमिटर वर्षाको मापन भएको छ । यसैगरी जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुशा ,सप्तरी, सुनसरी , मोरङ, रामेछाप, सोलुखुम्बु र आसपासका ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।

काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति छिटपुट वर्षा भएको छ । आज दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भोलि पनि नेपालको धेरै ठाउँमा वर्षाको सम्भावना रहेको र पर्सि शुक्रवारदेखि ३–४ दिन पानी नपर्ने र सुक्खा हुने अनुमान रहेको मौसमविद् विनोद पोख्रेलले बताए ।