logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सहमती भएपनि आज दोस्रो दिन पनि चलेको छैन बस, यात्रु मर्कामा


  • उज्यालो अभियान

लालबन्दी, २० जेठ – यातायात व्यवसायीको देशब्यापी आन्दोलनका कारण आज दोस्रो दिन पनि सर्लाहीमा सार्वजनिक बस संचालन नहुँदा यात्रु मारमा परेका छन् ।

यहाँबाट जनकपुर, वीरगन्ज, हेटौंडा, नारायणघाट, विराटनगरजस्ता देशका पूर्वी तथा पश्चिम क्षेत्रका मुख्य सहरसम्म दिनहुँ संचालन हुने बस दोस्रो दिन पनि पूर्णरुपमा ठप्प रहेका छन् । गएराति रात्रि बस पनि काठमाडौं जाने/आउने गरेनन् ।

काठमाडौंमा हिजो राति सहमती भएको भनिए पनि यहाँ बसहरु चलेका छैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रजोस घिमिरेले बन्दकर्ता कहीँकतै नदेखिएका र कतै अवरोध नरहेको तर व्यवसायी आफैले बस संचालन नगरेका उज्यालो अभियानसँग बताए ।

बस संचालन नहुँदा जिल्लाभित्रै समेत विभिन्न ग्राभीण भेगका स्थानीय मारमा परेका छन् । बस नचले पनि स्थानीय रुटमा चल्ने टेम्पु (अटो र मयुरी) तथा म्याजिक भने साबिक झैँ गुडिरहेका छन् ।

लालबन्दी, हरिवन, मलंगवालगायतका स्थानमा बसपार्कबाट अटो तथा म्याजिकले यात्रु उठाइरहेका छन् । २ दिनदेखि बस संचालन नभएको फाइदा उठाउँदै टेम्पु र म्याजिकले दोब्बर भाडा लिएको यात्रुको गुनासो छ ।

लालबन्दीदेखि महोत्तरीको बर्दीवाससम्मको बस भाडा ८० रुपैयाँ रहे पनि म्याजिकमा हिजो बर्दीवासदेखि लालबन्दीसम्म आउँदा १५० रुपैयाँ तिरेर आएको लालबन्दी नगरपालिका–७, की सिर्जना काफ्लेले बताईन् ।

पछिल्लो समय नवलपुर–मलंगवा सडककमा म्याजिक संचालन हुन थाले पनि पूर्व पश्चिम हुलाकी सडक, बाँके–संग्रामपुर, मलंगवा–बलरालगायत ग्रामीण सडकमा बस मात्रै संचालन हुने गरेका छन् । जिल्लाभित्रका ग्रामीण सडक तथा पूर्व पश्चिम राजमार्गमा बस संचालन नहुँदा अत्यावश्यक काम परेर जिल्लाबाट विभिन्न ठाउँमा पुग्नुपर्ने तथा जिल्लामा आउनुपर्ने सर्वसाधारण मारमा परेका छन् ।

लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, बयलवासलगायत बजार क्षेत्रका बसपार्कमा पुगेका यात्रु बस सञ्ंचालन नभएको थाहा पाएपछि निराश भएर घर फर्किएका छन् ।

बिरामी तथा बिरामीका आफन्तलाई अस्पतालसम्म पुग्न र सरकारी अड्डा, अदालत धाउनुपर्नेहरुलाई कार्यालयसम्म आउजाउ गर्न समस्या परेको गुनासो गरेका छन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले देशभर नै सार्वजनिक गाडी चलाएका छैनन् ।