लालबन्दी, १९ जेठ – यातायात व्यवसायीको देशब्यापी आन्दोलनका कारण आज सर्लाहीमा पनि सार्वजनिक बस संचालन नहुँदा यात्रु मारमा परेका छन् ।
यहाँबाट जनकपुर, वीरगन्ज, हेटौंडा, नारायणघाट, विराटनगरजस्ता देशका पूर्वी तथा पश्चिम क्षेत्रका मुख्य सहरसम्म दिनहुँ संचालन हुने बस पूर्णरुपमा ठप्प रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रजोस घिमिरेले बन्दकर्ता कहीँकतै नदेखिएका र कतै अवरोध नरहेको तर व्यवसायी आफैले बस संचालन नगरेका उज्यालो अभियानसँग बताए ।
बस संचालन नहुँदा जिल्लाभित्रै समेत विभिन्न ग्राभीण भेगका स्थानीय मारमा परेका छन् । बस नचले पनि स्थानीय रुटमा चल्ने टेम्पु (अटो र मयुरी) तथा म्याजिक भने साबिक झैँ गुडिरहेका छन् ।
आज बस संचालन नभएको फाइदा उठाउँदै टेम्पु र म्याजिकले दोब्बर भाडा लिएको यात्रुको गुनासो छ । लालबन्दीदेखि महोत्तरीको बर्दीवाससम्मको बस भाडा ८० रुपैयाँ रहे पनि म्याजिकमा आज बर्दीवासदेखि लालबन्दीसम्म आउँदा १५० रुपैयाँ तिरेर आएको लालबन्दी नगरपालिका–७, की सिर्जना काफ्लेले बताईन् ।
पछिल्लो समय नवलपुर–मलंगवा सडककमा म्याजिक संचालन हुन थाले पनि पूर्व पश्चिम हुलाकी सडक, बाँके–संग्रामपुर, मलंगवा–बलरालगायत ग्रामीण सडकमा बस मात्रै संचालन हुने गरेका छन् । जिल्लाभित्रका ग्रामीण सडक तथा पूर्व पश्चिम राजमार्गमा बस संचालन नहुँदा अत्यावश्यक काम परेर जिल्लाबाट विभिन्न ठाउँमा पुग्नुपर्ने तथा जिल्लामा आउनुपर्ने सर्वसाधारण मारमा परेका छन् ।
लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, बयलवासलगायत बजार क्षेत्रका बसपार्कमा पुगेका यात्रु बस संचालन नभएको थाहा पाएपछि निराश भएर घर फर्किएका छन् ।
बिरामी तथा बिरामीका आफन्तलाई अस्पतालसम्म पुग्न र सरकारी अड्डा, अदालत धाउनुपर्नेहरुलाई कार्यालयसम्म आउजाउ गर्न समस्या परेको गुनासो गरेका छन् ।
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले आज देशभर नै सार्वजनिक गाडी चलाएका छैनन् ।