लालबन्दी, १८ जेठ – आज बिहानपख सर्लाहीको अधिकांश भूभागमा हावाहुरीसहित पानी परेको छ ।
चर्को गर्मी रहेको यहाँ बिहान ३ बजेको आसपासमा हावाहुरी र चट्याङसहित पानी परेको हो । हावाहुरीले सामान्य मात्रामा आँप तथा लिची र घोगा लाग्ने बेला भएको मकैमा क्षति गरेको छ । राति पानी परेको सर्लाहीमा आज फेरि चर्को घाम छ । आज बिहानैदेखि चर्किएर घाम लागेकाले स्थानीय वासिन्दाले गर्मी महशुस गरिरहेका छन् ।
अघिल्ला केही वर्षको तुलनामा यो वर्ष बेलाबेलामा पानी परिरहेको स्थानीय बताउँछन् । रातिको हावाहुरीपछि जिल्लाभरको विद्युत् अवरुद्ध बनेको थियो । बजार क्षेत्रमा बत्ती आइरहे पनि ग्रामीण भेगमा भने मर्मत, संभारको काम चलिरहेको प्राधिकरणले जनाएको छ । यसैबिच, आज देशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । देशका उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागका थोरै ठाउँ र बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् ढकालले बताए ।
काठमाण्डौ उपत्यकामा आज छिटपुट वर्षा हुन सक्ने तर ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
गएको बिहीवार राति नेपाल भित्रिएको मनसुन कोशी प्रदेशबाट अगाडी नबढेको पनि महाशाखाले जनाएको छ । मनसुन देशभर फैलिन केही दिन लाग्ने अनुमान छ ।