logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लालबन्दीका होटलमा प्रहरीको १५ बुँदे आचारसंहिता


  • उज्यालो अभियान

लालबन्दी, १६ जेठ – सर्लाहीको लालबन्दी बजारका होटल, लज र रेस्टुरेन्टमा प्रहरीले १५ बुँदे आचारसंहिता टाँस गरेको छ ।

समाजमा शान्ति सुरक्षा कायम गर्ने र होटल व्यवसायको क्षेत्रमा कुनै किसिमका अनैतिक गतिविधि हुन नदिन आचारसंहिताको फ्लेक्स टाँस गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा होटल, लज र रेस्टुरेन्टमा आचारसंहितासहितको फ्लेक्स टाँस गर्ने कार्यको शुुभारम्भ गरिएको हो ।

उक्त आचारसंहितामा प्रत्येक होटल तथा लजले अनिवार्य आगन्तुक पुस्तिका राख्ने, सम्भव भएसम्म होटलमा बास बस्न आउनेको परिचय पत्र राख्ने, उमेर पुगेका मानिसलाई मात्रै काममा लगाउने, होटलमा अनैतिक कार्य हुन नदिने, होटलभित्र प्रवेश गर्ने भाग समेत देखिने गरी अनिवार्य सिसी क्यामेरा राख्नेलगायतका विषय उल्लेख गरिएको छ । यहाँका प्रत्येक होटल व्यवसायीलाई काउन्टर अगाडि सबै सेवाग्राहीले देख्ने गरी आचारसंहिता टाँस गर्न भनिएको छ ।

आचारसंहिताको पालना गर्दा होटलमा बसेर आपराधिक गतिविधिको योजना बनाउने व्यक्तिको मनोबल घट्ने अपेक्षा गरिएको प्रहरी निरीक्षक जोहारीले उज्यालो अभियानसँग बताए ।

आचारसंहिता टाँस गरिएसँगै प्रहरीले होटल व्यवसायीलाई आवश्यक सुरक्षा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले यो कार्यबाट प्रहरी र होटल व्यवसायीबिच अझ सुमधुर सम्वन्ध कायम हुने विश्वास व्यक्त गरेका छन् ।