मलंगवा, १६ जेठ – गणतन्त्र दिवसको अवसरमा सर्लाहीमा हिजो विविध कार्यक्रम गरिएका छन् ।
गणतन्त्र दिवस मूल आयोजक समितिको आयोजनामा सदरमुकाम मलंगवामा हिजो बिहान प्रभातफेरि निकालियो । राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा अधिकारी, नागरिक समाज, गैरसरकारी संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा प्रभातफेरि गरी गणतन्त्रको उपलब्धीको सम्वन्धमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए ।
त्यसपश्चात जिल्ला प्रशासन कार्यालयमा सेवा प्रदायक तथा सेवाग्राहीको आयुर्वेद पद्धतिबाट निःशुल्क उपचार र आयुर्वेदका सम्वन्धमा प्रष्ट पार्ने काम गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उज्यालो अभियानसँग बताए । गणतन्त्र दिवसकै अवसरमा आज बिहान मलंगवामा योग शिविर सम्पन्न गरिएको छ ।
जिल्लाका २० वटै पालिकामा गणतन्त्र दिवसको अवसर पारेर हिजो बेलुका सरकारी कार्यालय, पालिका, राजनीतिक दल, सामाजिक संघसंस्था, दलका भातृ संस्था र नागरिक स्तरबाट दीप प्रज्वलनका कार्यक्रमहरु भएका हाम्रा संवाददाताले जनाएका छन् ।
गणतन्त्र दिवस जिल्ला मुल आयोजक समितिले जेठ १४, १५ र १६ गते दीप प्रज्वलनसहितका कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो ।