logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई आर्थिक सहयोग


  • उज्यालो अभियान

घारिबथान, १५ जेठ – दुई साताअघि काभ्रेको धुलिखेलमा करेन्ट लागेर मृत्यु भएका सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका उपेश परियार (उज्वल) को परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

बैदेशिक रोजगारीमा रहेका घारिबथानसहित अन्य ठाउँका युवा र स्वदेशमै विभिन्न ठाउँमा कार्यरत मनकारी व्यक्तिले आर्थिक अवस्था दयनिय रहेको परियारं परिवारलाई आर्थिक सहयोग गरेका हुन् । मृतक उपेशको परिवारका लागि सङ्कलन भएको एक लाख ७१ हजार ९७१ रुपियाँ बिहीबार घरमै पुगेर प्रदान गरिएको घारिबथानस्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयका शिक्षक भिमबहादुर खड्काले जानकारी दिए ।

मृतक उपेशका बुवा विष्णु दमाईसहित परिवारका सदस्यलाई सहयोग रकम हस्तान्तरण गरिएको शिक्षक खड्काले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले निर्माण भइरहेको नयाँ प्रशारण लाइनमा ठेकेदारमार्फत मजदुरको रुपमा कार्यरत २७ वर्षीय परियारको बिजुलीको खम्बामा चढेर काम गरिरहँदा एक्कासी करेन्ट प्रवाह हुँदा मृत्यु भएको थियो ।

उपेशको मृत्यु भएको दुई दिनअघि मात्रै हावाहुरी आएर घरको छानो उडाइदिएको थियो । उपेशको काजकिरियामै समस्या भएपछि गाउँले मिलेर घरको छानो मर्मत गरिदिए पनि छानोबाट पानी चुहिँदा पीडित परिवार समस्यामा परिरहेका छन् ।