logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सीप नसिकी बैदेशिक रोजगारमा जाने र ठगिनेक्रम बढेकोप्रति चिन्ता


  • उज्यालो अभियान

हरिवन, १२ जेठ – बैदेशिक रोजगारमा जानुअघि सीप नसिक्ने परिपाटीका कारण समस्या बढ्दै गएको सरोकारवालाले बताएका छन् ।

बैदेशिक रोजगारको सम्वन्धमा आज सर्लाहीको हरिवन नगरपालिकास्थित नयाँरोडमा लैंगिक उत्तरदायी तथा स्थानीय श्रम आप्रवासन सुशासनका सम्वन्धमा आयोजित छलफलका सहभागीले सीप नसिकी एजेन्टमाथि पूर्ण विश्वास गरेर हतारहतार वैदेशिक रोजगारमा जाने र बिदेश पुुगेर अलपत्र पर्ने घटना समाजमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले बैदेशिक रोजगारलाई ‘देश पनि हेरिने, मुख पनि फेरिन’ भनेर सामान्य ढंगले लिइँदा जटिल समस्या पैदा भइरहेको बताए ।

सबैभन्दा छिटो र सजिलो हुने भन्दै एजेन्टको साथ लागेर बैदेशिक रोजगारीमा जान खोज्दा तथा जाँदा ठगीको घटना बढेको नगरप्रमुख बुढाथोकीको भनाई छ । बैदेशिक रोजगारीमा गएर के काम गर्ने ? र कुन मेनपावरमार्फत जाने ? भन्ने सम्मको सामान्य जानकारी समेत नहुँदा समस्या विकराल बनेको उनको भनाई छ । नगरप्रमुख बुढाथोकीले बैदेशिक रोजगारीको क्षेत्रमा ठगी गर्ने गिरोहको ठूलो जालो रहेकाले पीडितलाई न्याय दिन सारै समस्या परिरहेको बताए ।

हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले बैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी नियन्त्रण र युवालाई यहीँ रोजगारी सिर्जना गर्ने कार्यका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा योजना समावेश गर्ने बताए । लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले यहाँ एउटा काम भन्ने र बिदेश गएपछि अर्कै काम लगाउने गरेको गुनासो न्यायीक समितिमा समेत आइरहेको जानकारी दिए ।

यहाँ कुनै पनि काम गर्दा लाज हुने र आफूलाई ठूलो मान्छे ठान्ने तर बैदेशिक रोजगारमा गएपछि जस्तो सुकै काम गर्न तयार हुने परिपाटी रहेको उनले उल्लेख गरेका छन् । बागमती नगरपालिकाकी कार्यवाहक नगर उपप्रमुख रुपा बोम्जनले बैदेशिक रोजगारमा जानेहरु नातेदारबाटै बढी मात्रामा ठगीमा परिरहेको बताए ।

पीडितले उजुरी दिएपछि छलफल गराउन खोज्दा ठगीमा संलग्न व्यक्तिले अनेक बहानाबाजी गर्ने गरेको बोम्जनको भनाई छ । बरहथवा नगरपालिका १४ का वडाध्यक्ष दीपेन्द्रप्रसाद यादवले बैदेशिक रोजगारको क्षेत्रमा ठगीसँगै समाजमा अनेक विकृति, बिसंगति पैदा भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालले बैदेशिक रोजगारमा जानेहरु एजेन्टको चंगुलमा फस्दा समस्या बढेको बताए । लालबन्दी नगरपालिकाका रोजगार संयोजक मनिराज श्रेष्ठ, हरिवन नगरपालिकाकी रोजगार संयोजक शिक्षा न्यौपाने, बागमती नगरपालिकाको रोजगार संयोजक निलम कुशवाहा र बरहथवा नगरपालिकाका रोजगार संयोजक रुपेश कर्णले बैदेशिक रोजगारीको क्रममा ठगीमा परेको भनी पीडित व्यक्ति र उनीहरुको परिवार गुनासो गर्न आउने गरेको र समस्या समाधानका लागि माथिल्लो निकायमा पहल गर्दा कुनै प्रतिक्रिया नै नआउने गरेको गुनासो गरेका छन् ।

बैदेशिक रोजगार विभाग वा अन्य निकायमा पीडितको गुनासो लिएर कयौं पटक फोन गर्दा फोन नउठाउने र इमेल पठाउँदा इमेलको जवाफ समेत नआउने गरेको पालिकाका रोजगार संयोजकहरुको गुनासो रहेको छ । रोजगार शाखामा बैदेशिक रोजगारमा जाने भनेर श्रम स्वीकृत लिन आउने अधिकांशलाई आफू जाने देश र गर्ने कामबारे सामान्य जानकारी समेत नहुने र बिदेश पुगेपछि ठगीमा परेको व्यक्तिको परिवारसँग कुनै पनि प्रकारको कागजात नहुँदा समस्या पर्ने गरेको रोजगार संयोजकले बताएका छन् ।

छलफलमा वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि, बैदेशिक रोजगारबाट फर्किएका व्यक्ति, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो । सहभागीलाई बैदेशिक रोजगारको वर्तमान अवस्था, ऐन, नियमलगायतका सम्वन्धमा बैदेशिक रोजगारको क्षेत्रमा कलम चलाइरहेका पत्रकार सुनिल न्यौपानेले प्रष्ट पारेका छन् ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सन्जालको आयोजनामा संस्थाका उपाध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा सहयोगी समाज नेपाल हरिवनका अध्यक्ष हरि थापाले कार्यक्रमबारे प्रष्ट पारेका छन् ।