logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

दुर्घटना निम्तने गरी लिची किनबेच


  • उज्यालो अभियान

नवलपुर, १२ जेठ – सर्लाहीको बागवानी जंगलमा पूर्व पश्चिम राजमार्ग नै ढाकेर लिचीको किनबेच हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुर अगाडिको राजमार्ग किनारमा एक दर्जन बढी व्यक्ति असुरक्षित हिसाबले लिची बिक्री गर्न बसेका छन् । दुई साताअघि नै विभिन्न ठाउँबाट लिची ल्याएर बिक्री गरिरहेका उनीहरुले ग्राहकलाई बागवानी केन्द्रमा फलेको लिची भनेर झुक्याएर बिक्री गरिरहेका छन् ।

बागवानी केन्द्रमा उत्पादन भएको लिची आइतबारदेखि बल्ल कार्यालयको गेट अगाडि स्टल राखेर बिक्री गर्न सुरु गरिएको छ । उष्ण प्रदेशीय बागवानी केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले केन्द्रकै अगाडि असुरक्षित हिसाबले बागवानी केन्द्रको लिची भनेर बिक्री गरिरहेकाहरुलाई हटाउन प्रयास गरे पनि असफल भइरहेको गुनासो गरेका छन् ।

बागवानी केन्द्रमा ठेकेदारले ठेक्का पाएको लिची टिप्दै नटिपी बाहिर सडक किनारमा बागवानीको लिची भनेर ग्राहकलाई बिक्री गरिएको निमित्त केन्द्र प्रमुख यादवको भनाई छ । यसले एकातर्फ बागवानी केन्द्रको उत्पादनको सम्वन्धमा गलत सन्देश जाने र अर्कोतर्फ सडक दुर्घटनाको अत्यधिक जोखिम रहेको निमित्त केन्द्र प्रमुख यादवको भनाई छ ।

आफू नै ग्राहक बनेर जाँदा बाहिरको लिचीलाई बागवानी केन्द्रको भनेर बिक्री गरेको पाइएको यादवको भनाई छ । “हाम्रो बगैँचामा फलेको लिची टिप्दै नटिप्दा पनि बाहिर रोडमा बागवानीको लिची भनेर बिक्री भइरहेको छ,” यादवले उज्यालो अभियानसँग भने, “हाम्रो उत्पादनमा त बेग्लै स्वाद र दाना नै फरक पर्छ । यसरी बाहिर जथाभावी बागवानीको लिची भनिदिँदा हामीलाई सारै मार परिरहेको छ ।”

मोटरसाइकलसहित अन्य सवारीका चालक र यात्रु सडकमै गाडी रोकेर लिची किन्ने गरेका छन् । साँघुरो सडक र त्यसैमाथि मोटरसाइकल, टेम्पु, बसलगायतका सवारी साधन रोकेर लिची किन्नेको भीड लाग्दा दुर्घटनाको जोखिम बढेको छ ।

बागवानी केन्द्र अगाडिको सडकमा वर्षेनि यो क्रम दोहोरिँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रजोस घिमिरेले सडक किनारमा दुर्घटनाको जोखिम हुने गरी लिची बिक्री गर्न बसेका व्यक्तिलाई ट्राफिक प्रहरीले पटकपटक सम्झाउने काम गरे पनि अटेर गरिरहेको बताए ।

लिची किन्न सडकमै गाडी रोकेर थप जोखिम निम्त्याउने चालकलाई कारवाही गर्न सुरु गरिएको ट्राफिक प्रहरी निरीक्षक घिमिरेको भनाई छ । व्यापार गर्न बस्ने व्यक्तिलाई ट्राफिक प्रहरीले सम्झाउने काम गरे पनि सरसमाग्री नै बरामद गर्ने अधिकार आफूहरुसँग नरहेको उनको भनाई छ ।

घिमिरेले यस विषयमा नगरपालिकालाई घच्घच्याउने बताएका छन् । ट्राफिक प्रहरी निरीक्षक घिमिरेले भने,–“हामीले त लिची बिक्री गर्न बस्नेलाई एक पटक होइन्, पटकपटक सम्झाउने काम गरेका छौँ तर उनीहरु हट्न मानेका छैनन् ।”

लालबन्दी नगरपालिका–१, नवलपुरका वडाध्यक्ष हरिबहादुर भट्टराईले न्यून आयस्तर भएका व्यक्ति एक÷डेढ महिनाका लागि व्यापार गर्न बसेकाले अवरोध नगरिएको सुनाए । वडाध्यक्ष भट्टराईले सडक किनारमै लिची बिक्री गर्न बसेका र खरिद गर्नेको भीड लाग्दा दुर्घटनाको जोखिम भने बढेको महशुस भइरहेको बताएका छन् । “एक/डेढ महिना कमाएर खाऊन भन्ने हिसाबले केही नगरेका हाँै तर दुर्घटनाको जोखिम त धेरै नै छ,” वडाध्यक्ष भट्टराईले उज्यालो अभियानसँग भने“ रोड नै जाम हुने र दुर्घटना हुने गरी भइरहेको व्यापार रोक्न प्रहरीसँग समन्वय गर्छौँ ।”

अहिले लिची बिक्री गर्न बस्नेहरु आँपको सिजनमा फेरि यसैगरी आँप बिक्री गर्न बस्ने गरेका छन् ।