हरिवन, ०९ जेठ – सर्लाहीको हरिवनस्थित चापिनी खोलाको पुलमा बिग्रिएको बस हटाएपछि पूर्व पश्चिम राजमार्ग सूचारु भएको छ ।
आज बिहान एउटा यात्रुबाहक बसको पट्टा भाच्चिँदा अन्य गाडी पास हुन सकेका थिएनन् । पूर्व पश्चिम राजमार्ग विस्तार गरिरहेका निर्माण व्यवसायीको जेसिबी प्रयोग गरेर बिग्रिएको बस हटाएपछि पूर्व पश्चिम राजमार्ग सूचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेले जानकारी दिए ।
साँघुरो रहेको चापिनी पुल ‘वान वे’ अर्थात् एकतर्फी मात्रै गाडी चलाउन मिल्ने पुल हो । पुलको बिचमै गाडीको पट्टा भाँचिएपछि प्रहरीले पुलको दक्षिणतर्फ खोलाबाट डाइभर्सन गराएर गाडी पास गराउने प्रयास गरेको थियो ।
दुुई दिनअघि मात्रै खोलामा बाढी आएकाले डाइभर्सन बनाएको ठाउँमा पनि एउटा बस फसेपछि हतारहतार जेसिबी प्रयोग गरेर पट्टा भाँचिएको बस पुलबाट हटाएर राजमार्ग नै सूचारु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।