logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पर्याप्त वर्षाले चुरेवर्ती क्षेत्रका किसान हर्षित, असारमा खडेरी जाने चिन्ता


  • उज्यालो अभियान

परवानीपुर, ०९ जेठ – यो वर्ष जेठमा भएको पर्याप्त वर्षाले सर्लाहीको चुरेवर्ती क्षेत्रका किसान खुसी देखिएका छन् ।

जिल्लाको लालबन्दी, हरिवन, ईश्वरपुर र बागमती नगरपालिकाको चुरेवर्ती क्षेत्रमा आकाशे वर्षाको भर छ । पप्पसेट चल्ने वा नहरको पानी आउने अवस्था छैन् । जेठमा पर्याप्त वर्षा भइदिँदा चुरेवर्ती क्षेत्रका किसानलाई राहत मिलेको हो ।

चुरेभेगमा अहिले सँठिया मकै गोडमेलको समय भएको छ । मकै गोडमेल गरिसकेका किसानले रासायनिक मल भने पाउन नसकेको गुनासो गरेका छन् ।

जंगल, खेतबारी र कान्लामा पर्याप्त घाँस पलाउँदा चुरेवर्ती भेगका पशुपालक किसानलाई फाइदा नै पुुगेको छ । अहिले जेठमै पर्याप्त वर्षा भएकाले असार र साउनमा खेत रोप्ने बेला भने खडेरी जाने हो कि भन्ने चिन्ता किसानमा पाइन्छ ।

लगातारको वर्षाले चुरेभेगमा खोलाको बाटो र डाँडापाखाका कच्ची बाटो खराब हुँदा भने स्थानीयलाई समस्या परेको छ । आकाशे वर्षापछि पूर्व पश्चिम राजमार्ग क्षेत्र र दषिणी भेगमा पनि हरियाली बढाएको छ ।

उखु, चैते धान र विभिन्न तरकारी राम्रोसँग हुर्किएर आएका किसानले बताएका छन् । पाकेर भित्र्याउने बेला भएको र मकै सुकाएर बेच्नुुपर्ने किसान भने पानी परिरहँदा समस्यामा परेका छन् ।

सिँचाईको सुविधा रहेको क्षेत्रका कतिपय किसान अब केही दिनमा धानको ब्याड राख्ने तयारीमा समेत जुटिसकेका छन् ।