लालबन्दी, ०९ जेठ – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा आज स्थानीयले गरेको चक्काजाम तीन घण्टापछि खुलेको छ ।
गएको सोमबार रानिगन्जको घिमिरे चोकमा बसले म्याजिकलाई ठक्कर दिँदा मृत्यु भएकी २२ वर्षीया सोना पन्तको परिवारलाई बसधनीले उचित राहत रकम प्रदान गर्नुपर्ने माग राख्दै स्थानीयले आज दिउँसो तीन घण्टा राजमार्ग ठप्प पारेका हुन् । राहत रकमको सम्वन्धमा बस व्यवसायीको संघसँग सहमती भएपछि स्थानीयले चक्काजाम स्थगित गरेका हुन् ।
सहमतीसँगै मृतकको परिवार शव बुुझ्न प्रादेशिक अस्पताल मलंगवा गएका छन् । गएको सोमबार अपरान्ह रानिगन्जको घिमिरे चोकमा पूर्व पश्चिम राजमार्ग विस्तार गर्न डाइभर्सन बनाएको ठाउँमा यात्रु ओरालेर भाडा उठाइरहेका बेला ना. १ ज २६४५ नम्वरको म्याजिकलाई विराटनगरबाट सर्लाही सदरमुकाम मलंगवाका लागि छुटेको ना. ६ ख ७२२७ नम्वरको बसले ठक्कर दिँदा म्याजिक भाडा तिर्दै गरेकी पन्तको मृत्यु भएको थियो ।
धादिङ स्थायी घर भएकी पन्त रानिगन्जको गैरीगाउँस्थित मामाघरमा बसेर पढिरहेकी थिईन् । भारतमा बस्ने सोनाका बुवा, आमा हिजो मात्रै रानिगन्ज आइपुुगेका छन् ।
बुवा, आमा भारतबाट आउन ढिला भएकाले प्रादेशिक अस्पताल मलङ्गवामा चार दिनदेखि राखिएको शव पोष्टमार्टमका ढिलाइ भएको प्रहरीले जनायो । सोमबारको उक्त दुर्घटनामा अन्य आठ जना घाइते भएका थिए ।
म्याजिक चालकसहित पाँच जना यात्रुको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । उनका अनुसार एक जना घाइते काठमाडौं रेफर भएका छन् भने दुई जना डिस्चार्ज भइसकेका छन् ।
म्याजिकलाई ठक्कर दिने बस चालकलाई दुर्घटनाको दिनदेखि नै हिरासतमा राखी कानूनी कारवाही अघि बढाइएको प्रहरी निरीक्षक जोहारीले बताए ।