हरिवन, ०८ जेठ – सर्लाहीमा पानी पर्नक्रम रोकिएको छ ।
यहाँ हिजो र अस्ती दुुई दिन लगातार पानी परेको थियो । हिजो मध्यान्हपख तीव्ररुपमा हावाहुरीसहित झण्डै एक घण्टा लगातार वर्षा भएको थियो । त्यसपछि भने मौसम सफा भएर उघ्रिएको छ ।
यहाँ आज बिहानैदेखि घाम लागेर मौसम सफा छ । पर्याप्त वर्षा भएकाले तत्काललाई धुलो, धुँवाको प्रदुषण कम भएको छ । पूर्व पश्चिम राजमार्ग विस्तार भइरहेकाले भने केही मात्रामा सास्ती खेप्नु परेको गुनासो सुनिन्छ ।
हिजोको वर्षापछि बाँके, कालिन्जोर, फूलजोर, लखन्देही, चापिनी, हरिवन र बागमती खोलामा बाढी आएको थियो । बाढीले खोलाको बगर भएर चुरेभेगमा जाने बाटो खराब बनाएको स्थानीयले बताएका छन् । कच्ची अन्य सडक पनि हिलाम्मे र कालोपत्रे उप्किएर सडकका खाल्डाखुल्डीमा पानी जम्दा जोखिम बढेको छ ।
२ दिन लगातार पानी पर्दा आकाशे वर्षाको भरमा खेतीपाती हुने क्षेत्रका किसानलाई खुशी तुल्याएको छ । मकै भित्र्याउने बेला भएका किसानलाई भने समस्या पारेको हाम्रा संवाददाताले जनाएका छन् ।
यसैबिच, पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ ।
आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि सबै प्रदेशका पहाडी क्षेत्रमा रहेका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्रमा पनि हावाहुरीसँगै हल्कादेखि मध्यम वर्षाको अनुमान छ । प्रि–मनसुनी प्रणाली थप सक्रिय भएका कारण गएको एक हप्तादेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । यो क्रम अझै केही दिन रहने तर हिजोअस्तिको तुलनामा कम पानी पर्ने मौसमविद् डेभिड ढकालले बताए ।