लालबन्दी, ०८ जेठ – सर्लाहीको लालबन्दी नगरपालिका ७ नं. वडा कार्यालयले वडाभित्र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई सम्मान गरेको छ ।
वडाले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको हो । उनीहरुलाई एक थान झुल र आधा केजी हर्लिक्स प्रदान गरेर सम्मान गरिएको वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले बताए ।
वडा कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो । लालबन्दी ७ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति ३६५ जना रहेका छन् ।
जेठ ४ गते औपचारिक कार्यक्रम गरेर सम्मान कार्यको सुरुवात गरिएको थियो । जेठ ४ गते छुट भएका व्यक्तिलाई अझै पनि वडा कार्यालयमा बोलाएर झुल र हर्लिक्स प्रदान गरिरहेको वडा सचिव नीलाकुमारी निरौलाले जानकारी दिईन् ।
वडा सचिव निरौलाका अनुसार ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको वडा कार्यालयले नै निःशुल्करुपमा स्वास्थ्य बीमा गराउने काम समेत गरिरहेको छ ।