घारिबथान, ०४ जेठ – काभ्रेको धुलिखेलमा हिजो करेन्ट लागेर मृत्यु भएका सर्लाहीको घारिबथानका उज्वल भन्ने उपेश परियारको घरमा गाउँले मिलेर छानो हालिदिएका छन् ।
यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका १२ घारिबथानस्थित गोपी चोकका उज्वलको घरको छानो उडाएको थियो । घरको छानो उडाएको २ दिनपछि उज्वलको मृत्युु भएको हो ।
मृतक उज्वलका बुवा केशव दमाई र श्रीमती सुशीला परियार ५ वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुुझ्न धुलिखेल पुुगेका छन् । घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्वलको छोरी ८ वर्षीया उर्मिला परियार मात्रै रहेका छन् ।
घटनापछि आज बिहान उज्वलका दुुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुुगेका छन् । शव लिएर आएपछि काजकिरियामा बस्ने ठाउँ समेत नरहेकाले गाउँले मिलेर उज्वलको घरमा हावाहुरीले उडाएको छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए । “यही थोरै घडेरी र यो घर बाहेक यिनिहरुको केही पनि छैन्, त्यही उज्वलले कमाएर परिवारको गुजारा चलाइरहेको थियो,” पौडेलले उज्यालो अभियानसँग भने “उज्वल बितेसँगै यो घरको साहरा र आधार केही बाँकी रहेन ।”

उज्वलको परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत सम्भार तथा छानो हाल्ने काम गरिदिएको पौडेलको भनाई छ । उज्वलको घरमा हावाहुरीले छानो उडाएपछि खाने अन्न र लगाउने कपडा सबै भिजेको गाउँलेले बताएका छन् ।
मृतक उज्वलका आफन्त भैरब परियारले यो घरमा जस्तो बिचल्ली र पीडा आफूले जीवन कतै नदेखेको बताए । “आमा दुवै आँखा देख्दिनन्, बुबाको बुताबाट कुनै आम्दानी हुने अवस्था छैन्, श्रीमतीले घर हेरेर बसिदिँदा उज्वलले कमाएको पैसाले परिवार चलिरहेको थियो,” परियारले भने, “उज्वलको प्राण गएसँगै यो परिवारको त सारै बिचल्ली भयो ।”

परिवारका अनुसार उज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रुपमा काम गरिरहेका थिए । हिजो धुलिखेल नगरपालिका–७, स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी लाइन छाड्दा उज्वलको घटनास्थलमै मृत्युु भएको थियो ।
उज्वलको मृत्युपछि परिवारले पाउने राहत रकममा सहमती हुन बाँकी भएकाले उज्वलको शव आज साँझसम्म धुलिखेलमा नै रहेको छ । उज्वलको शव धुलिखेलमै अन्त्येष्टि गर्ने वा घर ल्याउने भन्ने तय हुन बाँकी छ ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उज्वलको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताए । नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका लागि वा अन्य सहयोग के गर्न सकिन्छ ? भनी कार्यपालिका बैठकमा छलफल गर्नुपर्ने भएकाले अहिले नै केही भन्न नसक्ने नगरप्रमुख आचार्यको भनाई छ ।
“म हिजो बेलुका नै उज्वलको घरमा जाने तयारी गरेको थिएँ तर घरमा कोही नभएको जानकारी पाएँ,” मेयर आचार्यले भने, “धुलिखेलबाट शव ल्याउन समन्वय गरिरहेको छु, शव ल्याएपछि नगरको तर्फबाट के गर्न सकिन्छ, कार्यपालिका बैठकमा कुरा गर्नुपर्छ ।”