हावाहुरीले छानो उडाएपछि उदांगो देखिएको उज्वलको घर ।
घारिबथान, ०३ जेठ – काभ्रेको धुलिखेलमा आज बिहान करेन्ट लागेर मृत्यु भएका सर्लाहीको घारिबथानका उज्वल परियार (नेपाली) को परिवार बिचल्लीमा परेको छ ।
आर्थिक अवस्था अत्यन्त दयनीय रहेको परियार परिवारको ईश्वरपुर नगरपालिका १२ घारिबथानमा रहेको घरमा जेठ १ गते अपरान्हपख चुरेभेगमा आएको ठूलो हावाहुरीले छानो नै उडाएको थियो । दुई दिनअघिको हावाहुरीले घरको छानो उडाएपछि अप्ठेरोमा परेको दलित तथा गरिब परियार परिवार आज उज्वलको मृत्युपछि थप संकटमा परेको हो ।
उज्वललाई करेन्ट लागेको खबर आएपछि आज मध्यान्ह मात्रै श्रीमतीसहित उनको परिवारका सदस्य धुलिखेलतर्फ लागेका छिमेकी प्रदीप खत्रीले जानकारी दिए । हावाहुरीले घरको छानो उडाएपछि सबै गाउँले मिलेर चन्दा संकलन गरी घरको छानो हाल्न सहयोग गर्ने सोच बनाइरहेका बेला उज्वलको मृत्यु भएको खबरले गाउँ नै स्तब्ध बनेको खत्रीले सुनाए ।
घारिबथानस्थित गोपी चोकका परियार परिवारको दुुई दिनअघि हावाहुरीले उडाएको छानो अहिले पनि नजिकै बारीमा अलपत्र रहेको छ । उज्वलका दुई बालबच्चा रहेका छन् ।

हावाहुरीले उडाएर बारीमा पुर्याएको उज्वलको घरको छानो ।
छिमेकी ईश्वरी चापागाईका अनुसार जेनतेन गुजारा चलाइरहेको उज्वलको परिवारमा उनको मृत्युपछि थप दयनीय अवस्था सिर्जना भएको छ । ईश्वरपुर नगरपालिका १२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले घरको छानो उडाएको परियारको परिवारलाई कहीँकतैबाट राहत उपलब्ध गराउन सकिन्छ की भनी पहल गरिरहेका बेला एक्कासी दुःखद् घटना भएको उज्यालो अभियानसँग बताए ।
काभ्रे प्रहरीका अनुसार उज्वलको निर्माणाधीन ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला नेपाल विद्युत् प्राधिकरणले लाइन छाड्दा घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर मृत्यु भएका उज्वल ।
धुलिखेल नगरपालिका ७ का वडाध्यक्ष रोमीप्रसाद श्रेष्ठले घटनास्थलमा पुग्दा दर्दनाक अवस्था पाएको आज साँझ उज्यालो अभियानसँग टेलिफोनमा बताए ।
माथि बिजुलीको तारमै झुण्डिरहेको अवस्थामा मृतकको शव निकालेर अस्पताल पठाएको वडाध्यक्ष श्रेष्ठले बताए । उज्वलसँगै अर्का एक मजदुर बिजुलीको काम गरिरहेको भए पनि ती मजदुर भने पोलमा नचढेर तल नै बसेकाले ज्यान बचेको धुलिखेल ७ का वडाध्यक्ष श्रेष्ठले बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको चरम लापरवाहीका कारण उज्वलको मृत्यु भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।