मृतक अरविन्दकुमार पण्डित कुम्हार ।
किसनपुर, ०१ जेठ – उखु खेतमा मृत भेटिएका सर्लाहीको किसनपुरका अरविन्दकुमार पण्डित कुम्हारको हत्या भएको परिवारले दावी गरेको छ ।
चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २६ वर्षीय अरविन्द ईश्वरपुर नगरपालिका ८ स्थित उखु खेतमा अस्ती मंगलबार मृत भेटिएका थिए । उखुु खेतमा मृत भेटिएका युवकको सुरुमा सनाखत नै हुन सकेन ।
मंगलबार बिहान पौने ८ बजे स्थानीयले उखु खेतभित्र बेवारिसे पुरुषको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनास्थलको प्रकृतिमुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लग्यो ।
हिजो बुधबार बिहान मृतकको दाई अशोक पण्डित कुम्हार अस्पतालमा पुुगेर शवको सनाखत गरेका हुन् । अरविन्द बैशाख २४ गतेदेखि नै बेपत्ता थिए परिवारका सदस्य निरन्तर उनको खोजी थिए ।
अविवाहित अरविन्दको ईश्वरपुर नगरपालिका–७, चिरान टोलकी एक महिलासँग प्रेम सम्वन्ध रहेको थियो । तीन सन्तानकी आमा रहेकी ती महिलासँग भागेर अरविन्द एक महिनाअघि भारतको राजधानी नयाँ दिल्ली पुुगेका थिए । अरविन्दका बुवा उपेन्द्र पण्डित कुम्हारसहितले नयाँ दिल्ली पुुगेर अरविन्द र ती महिलालाई आ–आफ्नो घर ल्याए ।
त्यसबेला देखि नै महिलाका परिवारले आफ्नो छोरालाई विभिन्न धाकधम्की दिँदै आएका अरविन्दका बुवा उपेन्द्रको भनाई छ । उनका अनुसार अरविन्द बेपत्ता भएको केही दिनअघि महिलाका परिवार तथा आफन्त आएर अरविन्दलाई मोवाइल चोरीको आरोप लगाउँदै आफूहरुलाई तथानाम गालीगलौच गरेर गएका उपेन्द्रको भनाई छ ।
बैशाख २४ गते अरविन्द बेपत्ता भएकै दिन पनि ती महिलाका एक जना आफन्त आएर छोरालाई धम्क्याएर गएको बुवा उपेन्द्रले बताए । अरविन्दको ती महिलाकै परिवारका सदस्य र आफन्तबाट हत्या भएको बुवा उपेन्द्रको अरोप रहेको छ ।
छोराको हत्या हुनुुअघि महिलाका श्रीमानसहितले बारम्बार फोन गरेर ज्यान लिनेसम्मको धम्की दिएको उपेन्द्रको भनाई छ । “हाम्रो छोराको महिलाकै श्रीमानसहितले हत्या गरेका हुन् तर प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाइरहेको छैन्,” उपेन्द्रले बिहीबार बिहान आफ्नो घरमा पुुगेका पत्रकारहरुसँग भने “घटनाअघि बारम्बार फोन गरेर धम्क्याउने उनीहरु छोराको हत्यापछि मोवाइल ‘स्वीच अफ’ गरेर बसेका छन् ।”

अरविन्दका दाई अशोक पण्डित कुम्हारले भाईको महिलाकै परिवारबाट निर्मम ढंगले हत्या भएको दावी गरेका छन् । अस्पताल पुुगेर भाईको शव हेर्दा टाउको तथा शरीरको गोप्य अंगमा चोटपटक नै चोटपटक देखिएको अशोकले बताए । “भाईको दुवै आँखा बाहिर निस्किएको र मुख सबै टेँडो बनाइएको थियो,” अशोकले भने, “गुप्तांगभरी पनि चोटपटक मात्रै थियो ।”
भाईको यसरी निर्मम किसिमले हत्या हुँदा समेत हत्यामा संलग्न रहेर व्यक्तिहरु खुलेयाम हिँडिरहेका अशोकको गुनासो छ । मृतक अरविन्दको परिवारले हत्याको दावीसहित शंकास्पद व्यक्तिको नाम इलाका प्रहरी कार्यालय केशरगन्जलाई उपलब्ध गराएको बताएको छ ।
अरविन्दको काजकिरिया गरेपछि प्रहरीमा जाहेरी दिने परिवारको तयारी छ । हिजो बुधबार साँझ अरविन्दको दाहसंस्कार गरेपछि परिवार अरबिन्दको काजकिरियामा जुटेका छन् ।
प्रहरीले यो घटनामा शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले मृतकका परिवारले नाम किटान गरेर दिएका व्यक्तिहरुमाथि प्रहरीले केरकार गरिरहेको जानकारी दिए ।
यो घटनालाई प्रहरीले गम्भीररुपमा लिएर अनुसन्धान अघि बढाएको एसपी खड्काको दावी छ । “उहाँहरु (मृतकको परिवार) ले जाहेरी नदिए पनि शंका गर्नुभएका व्यक्तिहरुमाथि हाम्रो तर्फबाट सोधपुछ जारी छ” एसपी खड्काले बिहीबार दिउँसो उज्यालो अभियानसँग भने“यो घटनालाई हामीले गम्भीररुपमा लिएर अनुसन्धान गरिरहेकै छौँ ।”
प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै अरविन्दको हत्या भएको वा अन्य कारणले मृत्यु भएको भनी खुल्ने बताएको छ । मंगलबार बिहान शव भेटिए पनि शवको प्रकृति हेर्दा तीन/चार दिनअघि नै युवकको मृत्यु भएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।