logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

स्वस्तिकले मनायो रजत जयन्ती, ३७५ जनाले लिए स्वास्थ्य सेवा


  • उज्यालो अभियान

बयलवास, ३१ बैशाख – सर्लाहीको ईश्वरपुुर नगरपालिका ६ बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले आज २५ औँ वार्षिकोत्सव अर्थात रजत जयन्ती विविध कार्यक्रमसहित मनाएको छ ।

संस्थाको २५ वर्षे यात्रा स्मरणीय बनाउने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा लक्षित सामाजिक उत्तरदायित्व कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रममा सहकारीले नारायणी एकेडेमी बयलवाससँगको सहकार्यमा सदस्यका बालबालिकालाई भर्ना शुल्कमा १०० प्रतिशत, मासिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने जानकारी दिएको छ ।

दलित सेयर सदस्यका १० जना बालबालिकालाई पूर्ण रूपमा मासिक शुल्क मिनाहा गरिने र आदिवासी जनजाति सदस्यका १० जना बालबालिकालाई ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको संस्थाका व्यवस्थापक विनोदकुमार थापाले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा शुभप्रिया हेल्थ केयर बयलवाससँगको सहकार्यमा ओपिडी शुल्कमा ५० प्रतिशत, ल्याब परीक्षणमा ३० प्रतिशत, बेड शुल्कमा १० प्रतिशत र औषधिमा १० प्रतिशत छुट प्रदान गरिने सहकारीले जनाएको छ ।

समारोहमा संस्थाका सस्थापक अध्यक्ष बेनीबहादुर कार्की, उपाध्यक्ष स्व. चेतनाथ मैनालीलगायत स्थापना कालका व्यक्तिहरुलाई सम्मान गरिएको छ । संस्थासँग सहकार्य गरिएको भन्दै नारायणी एकेडेमीका संचालक दुर्गानन्द झा, शुभप्रिया हेल्थ केयरका संचालक डा. अशोक कुमार सर्राफ र डा. शुभप्रिया साहलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष विष्णुहरि मैनालीको अध्यक्षता तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । रजत जयन्तीकै अवसरमा संस्थाले आफ्ना शेयर सदस्यका लागि औषधिसहित आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३७५ जनाले सेवा लिएका संस्थाले दावी गरेको छ ।