logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आगलागीबाट टेलिफोन र इन्टरनेटको तारमा क्षति, स्थानीय भन्छन–ठूलो दुर्घटना टर्यो


  • उज्यालो अभियान

लालबन्दी, ३० बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–७, स्थित खसी बजार नजिक आज बिहानपख बिजुलीको दुईवटा पोलमा आगलागी भएको छ ।

इन्टनरेट र टेलिफोनको तारका ठूल्ठूलो गुजुल्टा रहेको स्थानमा बिहान २ बजेतिर आगलागी भएको हो । राजमार्ग छेउको खसी बजारमा रहेको ट्रान्सफर्मरमा एक्कासी पड्किएको आवाज आएको र त्यसपछि आगलागी सुरु भएको प्रत्यक्षदर्शी एवं स्थानीय वासिन्दा बैकुण्ठ सापकोटाले उज्यालो अभियानसँग बताए ।

सापकोटाले टेलिफोन र इन्टरनेटको तार व्यवस्थित किसिमले नराख्दा आगलागी भएको बताए । राति आगलागी भएपछि लालबन्दीका नेपाल विद्युत् प्राधिकरणका प्रमुख तथा प्राविधिकहरुलाई बारम्बार फोन गर्दा पनि फोन नै नउठाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

आगलागी सुरु भएको आधा घण्टापछि बल्ल बत्ती काटिएको थियो । त्यसपछि स्थानीय, प्रहरी र प्राधिकरणका प्राविधिक भएर आगलागी नियन्त्रणमा लिएका हुन् ।

आगलागीबाट दुुईवटा पोलमा रहेका बिजुली र टेलिफोनको तार जलेर नष्ट भएका छन् । आगलागीपछि लालबन्दीको खसी बजार आसपासमा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले आगलागीबाट बिजुलीको तार र ट्रान्सफर्मरमा कुनै क्षति नगरेकाले बिजुली सूचारु नै रहेको बताएका छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले आगलागी बेलैमा नियन्त्रण गर्न सफल भएकाले ठूलो प्रकारको क्षति हुन नपाएको बताए ।