घारिबथान, २९ बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर सुखीपुरमा चार वर्षअघि खारेज भएको विद्यालयका संरचना र जग्गा प्रयोगविहीन बनेका छन् ।
सुखीपुरमा रहेको मृगस्थली प्राथमिक विद्यालय नगरपालिका कार्यालयले २०७८ साल भदौमा खारेज गरेको थियो । विद्यार्थी नरहेको र विद्यालय लथालिङ्ग अवस्थामा रहेको भन्दै नगरपालिका कार्यालयले चार वर्षअघि बन्द गराएको उक्त विद्यालयका संरचना र जग्गा बेवारिसे बनेका हुन् ।
विद्यालयमा बालविकासमा एक जना शिक्षिकाबाहेक अन्य शिक्षक, कर्मचारीको दरबन्दी नै थिएन । विद्यालय खारेज गरेपछि ति शिक्षिकालाई ईश्वरपुर–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा पठाइयो ।
यहाँ अध्ययन गर्ने बालबालिका सोही वडाको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारी वा गाउँकै निजी विद्यालयमा जाने गरेका छन् । स्वयंसेवकको रुपमा स्थानीय थिरमणि बराल (उमेश) ले प्रधानाध्यापकको जिम्मेवारीमा काम गरिरहेका थिए ।
बरालले २०७८ भदौमा नगरपालिकाबाट निरीक्षणमा आएको टोलीले विद्यालय बन्द गर्ने भनेर गएदेखि विद्यालयको भवन र जग्गा त्यत्तिकै रहेको बताए । “नगरपालिकाबाट निरीक्षण गर्न आएको टोलीले भोलीदेखि तपाई घरमै बस्नुुस्, विद्यालय खोल्नुपर्दैन भनेर फर्कियो,” बरालले उज्यालो अभियानसँग भने “त्यो दिनदेखि विद्यालय चलेको छैन् ।”
२०६० सालमा स्थानीयको जनश्रमदान र मृगस्थली सामुदायिक वनले उपलब्ध गराएको ६० हजार रुपियाँबाट स्थापना भएको विद्यालय अहिले झाडीभित्र जेलिएर रहेको छ । सुरुमा बाँसको टाटीका बेराघेरा र टायलको छानो हालेर विद्यालय स्थापना गरिएको स्थानीयले बताएका छन् ।
सुरुमा बनाइएको विद्यालयको कच्ची घर अहिले ढल्ने अवस्थामा पुुगेको छ । आर्थिक वर्ष २०६९/७० मा तत्कालिन जिल्ला शिक्षा कार्यालय मलंगवाले उपलब्ध गराएको साँढे छ लाख रुपियाँ अनुदान रकमबाट जस्तापाताले छाएको दुुई कोठे पक्की भवन निर्माण गरिएको थियो ।
उक्त भवनसँगै आर्थिक वर्ष २०७०÷७१ मा तत्कालिन जिल्ला शिक्षा कार्यालयबाटै प्राप्त दुुई लाख ५० हजार रुपियाँ अनुदानबाट निर्माण गरिएको शौचालय र आर्थिक वर्ष २०७३÷७४ मा ईश्वरपुर नगरपालिकाबाट प्राप्त पाँच लाख रुपियाँ बजेटबाट निर्माण गरिएको विद्यालयको पर्खाल बेवारिसे अवस्थामा रहेका छन् । ईश्वरपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं उप–सचिव हरिप्रसाद दाहालले पटक–पटक निरीक्षणमा जाँदा विद्यार्थी नै नरहेको पाइएपछि विद्यालयको नाममा भइरहेको सबै प्रकारको निकासा तत्काल रोकेर विद्यालय खारेज गरिएको जानकारी दिए ।
दाहालका अनुसार नगरपालिकामा विद्यार्थी रहेको भनी कागजात पेश गरेर रकम निकासा हुने गरेको भए पनि निरीक्षणमा जाँदा विद्यार्थी नभेटिएपछि विद्यालय बन्द गराइएको हो । “नगरपालिकाबाट खुरुखुरु पैसा निकासा हुने तर विद्यालय नियमित सञ्चालन नै नभएको पाइएपछि बन्द गरिएको हो,” शिक्षा शाखा प्रमुख दाहालले भने “हामी विद्यालयमा पुुग्दा जाने बाटो धरी थिएन, विद्यालय भनै झाडीमा जेलिएर रहेको थियो ।”
ईश्वरपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठले २०७८ सालमा आफू नै विद्यालयमा निरीक्षण गर्न जाँदा विद्यालय झाँडीभित्र जेलिएर रहेको र पठनपाठन नहुने गरेको पाइएपछि बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । श्रेष्ठले भने, “विद्यार्थी नै नरहेको र त्यहाँ दरबन्दी रहेका एक जना शिक्षिकालाई अर्को विद्यालयमा पठाएर विद्यालय खारेज गरिएको हो ।”
नगरपालिकाले खारेज गरेको विद्यालयको नाममा दुुई कठ्ठा नम्बरी जग्गा रहेको छ । सुरुमा स्थानीय सूूर्यप्रसाद घिमिरेले विद्यालय स्थापनाकालमा प्रदान गरेको दुुई कठ्ठा ऐलानी जग्गामा कच्ची घर निर्माण गरेर विद्यालय सञ्चालन गरिएको स्थानीय बताउँछन् ।
२०६९ सालमा पक्की भवन निर्माणका लागि नम्बरी जग्गा आवश्यक परेपछि तत्कालिन कालिन्जोर गाउँ विकास समितिले प्रदान गरेको डेढ लाख रुपियाँबाट दुुई कठ्ठा नम्बरी जग्गा खरिद गरिएको थियो । दुुई कठ्ठा नम्बरीसहित विद्यालयले उपयोग गर्ने भनी स्थानीयले प्रदान गरेको सात कठ्ठा ऐलानी (अखडा) जग्गा अहिले प्रयोगविहीन अवस्थामा रहेको गाउँलेले बताएका छन् ।
ईश्वरपुर १२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले विद्यालयको प्रयोगविहीन भवनमा गाउँमा रहेको अस्थायी प्रहरी पोष्ट राख्न खोजिए पनि प्रहरीलाई बस्न समेत उक्त भवन अपायक भएपछि कुनै प्रयोजनमा प्रयोग गर्न नसकिएको बताए । “विद्यालय खारेज भएपछि अलपत्र रहेको भवन प्रहरी चौकी राखेर प्रयोग गर्ने प्रयास गरियो तर प्रहरीले पनि त्यो भवनमा बस्न मानेनन्,” वडाध्यक्ष खत्रीले भने, “विद्यालयको भवन र जग्गा अन्य प्रयोजनका लागि प्रयोगमा ल्याउन सकेका छैनौँ ।”