logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ


  • उज्यालो अभियान

बलरा, २५ बैशाख – सर्लाहीको सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाबाट प्रहरीले नक्कली नेपाली नोटसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला मधुकरपुर ग्राम ९ बस्ने ३४ वर्षीय विश्वनाथ साह रहेका छन् । साहको साथबाट एक हजार दरका आठ थान अर्थात् आठ हजार रुपियाँ नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० ए ई ८३६३ नम्वरको मोटरसाइकललाई प्रहरी चौकी छन्कीटोलाले चेकजाँच गर्दा नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका हुन् । भारतीय नागरिक साहलाई बलरा नगरपालिका–२, जमुनियाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर साहलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताए । साह नक्कली नोट बनाउने गिरोहमा संलग्न रहेको हुनसक्ने प्रहरीको आशङ्का छ ।