हरिवन, २३ बैशाख – सर्लाहीको हरिवन नगरपालिका–१, भोक्टेनी खोलामा पुल निर्माण भएपछि स्थानीयलाई आउजाउमा सहज भएको छ ।
संघीय सरकारको चार करोड बढी लागतमा हरिवन नगरपालिका १ को पटौना र भोक्टेनी गाउँलाई जोड्ने गरी भोक्टेनी खोलामा पक्की पुल निर्माण गरिएको हो । २०८० पुसबाट निर्माण कार्य सुरु गरिएकोमा २०८१ असारमा ढलान गर्ने बेला बाढी आएर पुल नै ढलेको थियो । २०८१ को भदौबाट पुनः काम सुरु गरेर भर्खरै पुल निर्माणको काम सम्पन्न भएको हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङले जानकारी दिए ।
अहिले नवनिर्मित पुलबाट पैदलयात्री र सवारी साधन आउजाउ गरिरहेका छन् । वडाध्यक्ष घिसिङका अनुसार पुल निर्माणको काम पूरा भए पनि फिनिसिङ र दायाँबायाँ दुवैतर्फको सडक कालोपत्रे गर्न भने बाँकी नै रहेको छ ।
असारभित्रमा दुवैतर्फको सडक समेत कालोपत्रे गरेर पुलको औपचारिक उद्घाटन गरिने निर्माण व्यवसायीले बताएका छन् । निर्माण व्यवसायीले अहिले रौतहटको लमाहा क्षेत्रमा धमाधम पुलको काम गरिरहेका र त्यहाँको काम सकिनासाथ भोक्टेनी आएर बाँकी रहेको काम पूरा गर्ने वचन दिएका वडाध्यक्ष घिसिङको भनाई छ ।
भोक्टेनी खोलामा यसअघि पुल नहुँदा स्थानीय बाढीमा हेलिएर आउजाउ गर्न बाध्य थिए । पक्की पुल निर्माण भएर सञ्चालनमा आएसँगै अब किसान, पैदलयात्री, विद्यार्थी र खोला नजिकै रहेको हरिवन १ को वडा कार्यालय आउजाउ गर्ने सेवाग्राहीलाई साह्रै सहज भएको वडाध्यक्ष घिसिङले बताए ।
भोक्टेनी हुँदै आउने सडकको चापिनी खोलामा पहिले नै पुल निर्माण भइसकेको छ ।