logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

फूलजोर खोलामा इन्टेक निर्माण, ८० घरधुरीलाई खानेपानी खुवाउने लक्ष्य


  • उज्यालो अभियान

घारिबथान, २० बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, फूलजोरमा ८० घरधुरीमा खानेपानी सुविधा पुुर्याउने लक्ष्यसहित इन्टेक निर्माण गरिएको छ ।

चुरेको फेदीमा पर्ने फूलजोर गाउँमा ‘एक घर, एक धारा’ को अवधारण अन्तर्गत प्रत्येक घरधुरीमा खानेपानी पुुर्याउने लक्ष्यसहित धमाधम काम भइरहेको फूलजोर–झोलुंगेपुल खानेपानी उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्रराज खत्री (राजु) ले जानकारी दिए । उनका अनुसार ईश्वरपुर नगरपालिका १२ र लालबन्दी नगरपालिका १५ को सीमास्थित फूलजोर खोलामा ३० हजार लिटर क्षमताको खानेपानी इन्टेक ट्याङकी निर्माण गरिएको छ ।

इन्टेकमा सङ््कलन भएको पानी र नजिकै बाह्रैमास रसाइरहने पानी फिल्टर गरेर घरघरमा खानेपानी वितरण गर्ने योजना बनाइएको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताएका छन् । फूलजोर–झोलुुंगेपुल खानेपानी आयोजनाका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले ५२ लाख रुपैयाँ र वडा तथा नगरबाट पाँच लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

इन्टेकमा संकलन भएको पानी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले उपलब्ध गराउने सोलार प्लान्टमार्फत घरघरको धारामा पुुर्याइने उपभोक्ता समितिले जनायो । फूलजोर खोलाको किनारमै रहेको फूलजोर गाउँका स्थानीयले अहिले बाँके खोलातर्फबाट ल्याइएको खानेपानी पिउँदै आएका छन् ।

बाँके खोलाबाट ल्याइएको पानी नियमित नआउँदा खानेपानीको समस्या रहेको स्थानीयले गुनासो गरेका छन् । ईश्वरपुर १२ को बाँके खोलातर्फ पनि मधेश प्रदेश सरकारले उपलब्ध गराएको ७० लाख रुपैयाँ बजेटबाट एक हजार घरधुरीमा खानेपानी सुविधा पुुर्याउने लक्ष्यसहित काम भइरहेको छ ।

ईश्वरपुर १२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव) ले फूलजोर र बाँके दुवैतर्फको खोलामा खानेपानी आयोजनाको काम भइरहेको र आयोजना सफल भए वडाभित्र खानेपानीको समस्या धेरै हदसम्म कम हुने विश्वास व्यक्त गरेका छन् ।

सर्लाहीको चुरेका डाँडापाखा र चुुरेफेदीका गाउँहरुमा खानेपानीको समस्या रहेको छ । पछिल्लो समय विभिन्न दातृ निकाय, संघ तथा प्रदेश सरकार र पालिकाले समन्वय गरी विकट चुरेवर्ती गाउँमा लिफ्टिङ गरेर खानेपानी सुविधा पुुर्याउन थालेका छन् ।