संग्रामपुर, २० बैशाख – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिकाबाट आज साँझ पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।
पर्सा गाउँपालिका–२, मा रहेको रवी होटलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साह हतियारसहित पक्राउ परेका हुन् । साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले उज्यालो अभियानसँग जानकारी दिए ।
हतियारसहित युवक होटलमा बसिरहेको सूचना पाएर प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरी टोलीले दीपकलाई नियन्त्रणमा लिएको हो । बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको डिएसपी राईले बताएका छन् ।