लालबन्दी, १९ बैशाख – नेपाल विद्यार्थी संघको जनज्योति बहुमुखी क्याम्पस इकाइ समिति लालबन्दीले ओडिसामा बारम्बार विद्यार्थी मृत्युको घटना दोहोरिएको भन्दै गम्भीर बन्न सम्वद्ध निकायलाई आग्रह गरेको छ ।
नेविसंघ क्याम्पस इकाइ समितिका सभापति निर्मल अधिकारी (सफल) ले आज प्रेस विज्ञप्ती जारी गरी सरकार, विशेष गरी परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई तत्काल गम्भीर हुन र प्रिसा साहको मृत्युुबारे छानविन गर्न माग गरेका छन् । अब कुनै पनि विद्यार्थीले विदेशमा अध्ययन गर्न जाँदा असुरक्षित हुने वातावरणको अन्त्य गर्न नेविसंघ क्याम्पस इकाइ समितिले ध्यानाकर्षण गराएको छ ।
सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी छोरी २० वर्षीया प्रिसा हिजो बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् । प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेण्ड सेमेस्टरमा अध्ययनरत् थिईन् ।