आज दिउँसो प्रिसाको घरमा जम्मा भएका आफन्त, स्थानीय र पत्रकार । (तस्बीर : उज्यालो अभियान)
कविलासी, १९ बैशाख – भारतको ओडिसामा मृत्यु भएको प्रिसा शाह दुुई सातापछि घर फर्किने तयारीमा थिईन् । तर हिजो उनको मृत्युको खबर आयो ।
उनको शव बुुझ्न आज बिहान परिवार त्यसतर्फ प्रस्थान गरेको छ । कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी छोरी २० वर्षीया प्रिसा हिजो बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।
कलेज प्रशासनले हिजो राति ९ बजे प्रिसाको मृत्यु भएको जानकारी गराएपछि उनको बुवा श्यामप्रसाद साह, आमा पिङ्की साह र भाई गौरवकुमार साह आज बिहान ६ बजे ओडिसातर्फ हिँडेको प्रिसाका ठुलोबुवा कमलदेव प्रसाद साहले उज्यालो अभियानसँग बताए । कमलदेवका अनुसार प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेण्ड सेमेस्टरमा अध्ययनरत् थिईन् ।
हिजो दिउँसो ३ बजेतिर परिवारका सदस्यले प्रिसासँग टेलिफोनमा कुराकानी गरेका थिए । दिउँसो फोनमा कुरा गर्दा प्रिसाले आफू ठीक रहेको बताए पनि राति एक्कासी मृत्युको खबर आएको ठुलोबुवा कमलदेवले बताए ।
प्रिसाले परीक्षा सकेर दुुई सातापछि अर्थात् मे १८ तारिखमा आफू घर आउने भनी परिवारसँग भनेकी थिईन् । उनी गएको फागुनमा सोही कलेजमा पढ्ने विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनापछि घर आएकी थिईन् ।
कलेजले नै फोन गरेर बोलाएपछि प्रिसा दुुई हप्ता घरमा बसेर अन्य साथीसँगै पुनः ओडिसा फर्किएकी थिईन् । कलेजले नै टिकटको व्यवस्था गरेर प्रिसासहितका व्यक्तिलाई फिर्ता बोलाएको थियो ।
प्रिसाको परिवारमा बुवा, आमा र भाई मात्रै रहेका छन् । प्रिसाको मृत्युपछि उनीहरु तीनै जना आज बिहान घरमा ताला लगाएर शव बुुझ्न ओडिसातर्फ लागेका हुन् ।
उनीहरु यहाँदेखि पटनासम्म स्थलमार्ग र त्यहाँदेखि ओडिसासम्म हवाई मार्गमार्फत जाने बुझिएको छ । कविलासी नगरपालिका ८ का वडाध्यक्ष वीरेन्द्रप्रसाद साहले आफूहरुले संचारमाध्यममा आएका समाचारबाट घटनाको जानकारी पाएको बताए ।