logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

‘ज्यानमारा’ बन्यो फूलजोर पुल, ठेकेदार सम्पर्कविहीन


  • उज्यालो अभियान

जब्दी, १८ बैशाख – लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुल अत्यन्त जोखिमपूर्ण बनेको छ ।

लालबन्दी ३ जब्दी र ईश्वरपुर ८ रामपुरको सीमामा पर्ने पुलको दक्षिण रामपुरतर्फको भागमा ठूलो खाल्डो पर्दा बारम्बार सवारी दुर्घटना हुन थालेका छन् । पुल र सडकलाई जोड्ने भागमा ठूलो खाल्डो पर्दा केही दिनदेखि पुलबाट जोखिमपूर्ण हिसाबले साइकल र मोटरसाइकल मात्रै आउजाउ गरिरहेका छन् ।

अन्य सवारी भने खोलाबाट वारपार गरिरहेका छन् । लामो समयदेखि जिर्ण बनेको फूलजोर खोलाको यो पुल अहिले झनै ‘ज्यानमारा’ बनेको हो ।

खोलामा सानो बाढी आउनासाथ पुलको छेउबाट गिट्टी, बालुवा बगाउने गरेको स्थानीयले बताएका छन् । गिट्टी, बालुवा बगाएपछि तत्काल मर्मत नहुँदा पुल र सडकलाई जोड्ने भागमा ठूलो खाल्डो पर्दै जाने गरेको लालबन्दी नगरपालिका–३, जब्दीका युवक वर्षा पासवानले बताएका छन् ।

पासवानका अनुसार पुलको अवस्थाबारे जानकारी भएका व्यक्तिले साइकल र मोटरसाइकल विस्तारै कटाउने गरे पनि पहिलो पटक यात्रा गर्ने व्यक्तिले आफ्नै गतिमा सवारी साधन चलाएर ल्याउँदा खाल्डोमा परेर अंगभंग भइरहेका छन् । “थाहा हुनेलाई त विस्तारै चलाएर ल्याउँछन् नत्र नयाँ मान्छे बारम्बार यो खाल्डोमा आएर परिरहेका छन्,” ज्याला मजदुरको काम गर्ने पासवानले भने, “पुलको यस्तो बिजोग अवस्था हुँदा समेत मर्मतमा कसैले चासो देखाएका छैनन् ।”

पप्पु शिवशंकर जेभीले दुुई वर्षअघि निर्माण गरेको यो पुल हस्तान्तरण भएको छैन् । ईश्वरपुर नगरपालिका–८, का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारको बद्मासीका कारण फूलजोर पुलको अवस्था दयनीय बनेको बताए । “ठेकेदारलाई गुहार्ने र सडक डिभिजन कार्यालयमा डेलिगेसन जाने काम पटक–पटक गरियो तर पुलको समस्या समाधान गर्न सकिएन,” वडाध्यक्ष थापाले भने ,“बल्लतल्ल पुल बन्यो तर दायाँबायाँको सडक निर्माण नगरिँदा सारै दुःख खेप्नु परेको छ ।”

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर अनिलकुमारलाल कर्णले फूलजोर खोला पुलमा जब्दी र रामपुर दुवैतर्फबाट आउने सडक कालोपत्रे गर्न गत वर्ष नै ठेक्का लागे पनि ठेकेदार सम्पर्कमा नआइदिँदा समस्या परिरहेको जानकारी दिए । उनले उज्यालो अभियानसँग भने “पुलको अवस्थाबारे हामी पनि जानकार नै छौँ तर ठेकेदार बेपत्ता हुँदा काम गर्न सकिरहेका छैनौँ ।”

पुल जिर्ण भएको र त्यहाँबाट सवारी साधन वारपार गर्न नसक्ने अवस्था हुँदा समेत ‘खतरा’ को सङ्केतधरी नराखिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गर्न थालेका छन् । ईश्वरपुर नगरपालिका ८ ले केही दिनअघि पुलको पश्चिमतर्फ खोलामा बनाएको डाइभर्सनबाट सवारी साधन चलाउँदा बारम्बार बालुवा र पानीमा फस्ने गरेको चालकले गुनासो गरेका छन् ।